काठमाडौँ- देशभरका किसानहरूलाई डिजिटल तथा प्रिमियम कृषि सेवा उपलब्ध गराउने उद्देश्यले एनसेल र डिजिटल कृषि प्लेटफर्म ‘सुपर कृषक’ बीच सहकार्य भएको छ।
मोबाइल फोनमार्फत सहज रुपमा आधुनिक कृषि सेवा किसानसम्म पु¥याउने लक्ष्यका साथ यो सहकार्य गरिएको हो।
यस सहकार्यलाई नेपालको कृषि क्षेत्रलाई डिजिटल रुपान्तरण गर्ने तथा कृषि क्षेत्रमा विद्यमान डिजिटल असमानता घटाउने दिशामा महत्वपूर्ण कदमका रुपमा लिइएको छ। हालसम्म ३० हजारभन्दा बढी किसान ‘सुपर कृषक’ प्लेटफर्ममा दर्ता भइसकेका छन्।
प्लेटफर्ममार्फत अनलाइन कृषि तालिम, ‘कृषि डाक्टर’ सेवा तथा ‘कृषि चीना’ जस्ता डिजिटल उपकरण उपलब्ध गराइनेछ। यी सेवामार्फत किसानहरुले आफ्नै मोबाइल फोनबाट वास्तविक समयमै कृषि परामर्श, रोग किरा तथा बालीसम्बन्धी समस्या पहिचान, बाली अनुगमन तथा स्वमूल्यांकन गर्न सक्नेछन्।
सहकार्यपश्चात देशका सबै जिल्लाका किसानहरूले मोबाइलमार्फत स्थानीय आवश्यकता अनुकूल तथा सुलभ कृषि परामर्श प्राप्त गर्न सक्ने जनाइएको छ। उच्च हिमाली क्षेत्रदेखि तराईसम्मका किसानलाई विशेषज्ञको सल्लाह र आधुनिक प्रविधिको पहुँच सुनिश्चित हुने अपेक्षा गरिएको छ।
एनसेलले जनाएअनुसार किसानहरूले ‘सुपर कृषक’ एपमार्फत विभिन्न अवधिका सदस्यता प्याकेज रोज्न सक्नेछन्। एकवर्षे सदस्यता किस्ताबन्दीम लिन चाहनेले प्रत्येक तीन दिनमा १३ रुपैयाँ तिर्दै वार्षिक १ हजार ५६० रुपैयाँ तिर्नुपर्नेछ। ६ महिनाका लागि प्रत्येक तीन दिनमा १४ रुपैयाँ भुक्तानी गरी कुल ८४० लाग्नेछ।
एकमुस्ट भुक्तानी गर्ने किसानले ६ महिनाका लागि ७५६ रुपैयाँ तथा एक वर्षका लागि १ हजार २४८ रुपैयाँ तिरेर सेवा लिन सक्ने एनसेलले जनाएको छ। लागू हुने शुल्क मोबाइलको मेन ब्यालेन्सबाट कटौती हुनेछ।
प्रिमियम सेवाअन्तर्गत आधुनिक कृषि प्रविधिबारे चरणबद्ध तालिम मोड्युल, एआईमार्फत आठ सयभनदा बढी बालीका रोगकीरा तथा समस्या पहिचान सेवा र पहिचानपश्चात समाधानका उपायसमेत उपलब्ध गराइनेछ। साथै किसानहरूले स्थानीय भाषामै आवश्यक परेको समयमा तथ्यमा आधारित व्यत्तिगत परमार्श प्राप्त गर्न सक्नेछन्।




