सांकेतिक तस्बिर।
काठमाडौँ- त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यही माघ २५ र २६ गते राष्ट्रिय बहिरा ११-ए साइड फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा सात प्रदेशका कूल आठ टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
बागमती प्रदेशबाट दुई टोलीको सहभागिता रहने आयोजक ‘सुन्दरढोका साथी सेवा’ले जनाएको छ। प्रतियोगिताको पहिलो दिन चार खेल हुनेछन्। प्रतियोगिताको उपाधि विजेता टोलीले ट्रफिसहित ५० हजार, उपविजेताले ट्रफिसहित ४० हजार र तेस्रो हुने टोलीले ३० हजार रूपैयाँ प्राप्त गर्नेछ।
आयोजक संस्थाकी कार्यकारी निर्देशक विजेता लुइँटेल अधिकारीले बहिरा फुटबल प्रतियोगितामार्फत बहिरा अपांगता भएका फुटबल खेलाडीको प्रतिभा उजागर गरिने बताइन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहिरा फुटबल प्रतियोगितामा सहभागी हुने वातावरण बनाउन समेत प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाइ छ।



