एआईको सहयोगमा तयार पारिएको तस्बिर।
काठमाडौँ- फिल्म क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई फिल्म हलसम्म ल्याउन प्रचारप्रसारसहित गीतसंगीतको महत्वपूर्ण भूमिका हुने बताएका छन्।
फिल्मको रोजाइमा मर्मस्पर्शी सन्देशमूलक र कालजयी गीतसंगीत पर्ने गरेको उनीहरूको बुझाइ छ।
पछिल्लो समय ‘भिडियो सेयरिङ साइट’ टिकटकमा समेत गीतसंगीत लोकप्रिय हुने गरेको छ। ‘प्रेम गीत’, ‘नाई नभन्नु ल’, ‘म यस्तो गीत गाउँछु’ लगायतका केही फिल्म गीतसंगीतकै कारण सफल भएकाे उदाहरण छन्।
संगीतकार अर्जुन पोखरेलले फिल्म उद्योगमा गीतसंगीतलाई प्रचारप्रसारको सशक्त माध्यमका रुपमा लिइएकाे बताए। यसतर्फ निर्माण टिमले लगानी गर्न कन्जुस्याइँ गर्दा अपेक्षा गरिएअनुसार गुणस्तरीय फिल्म बन्न नसकेको उनकाे बुझाइ छ।
‘फिल्ममा हुने गीतसंगीत जति सुन्दर भयो त्यति नै चर्चा हुन्छ। गीतअनुसारको दृश्य हुनु जरुरी छ। एकल रूपमा आउने गीतभन्दा फिल्मका गीत भव्य र फरक हुनुपर्छ। तर, पछिल्लो समय त्यसतर्फ निर्माताकै ध्यान गएको देखिँदैन’, संगीतकार पोखरेलले भने।
उनकाे संगीत रहेको फिल्म ‘स्टुपिड मन’, ‘प्रेम गीत’, ‘ऐश्वर्य’, ‘म यस्तो गीत गाउँछ’ सफल हुनुको कारण गीतसंगीत मानिएको छ। पछिल्लो समय गीतसंगीतलाई फिल्मकै दृश्य राखेर पनि सार्वजनिक गर्ने गरिन्छ।
‘केही समयदेखि प्रेमकथानक फिल्म निर्माणमा कमी आएको छ, प्रेमिल गीत पनि कम बनेका छन्। तर, त्यसलाई प्रचारको रुपमा लिएर बनाइयो भने त्यसले फिल्मलाई फाइदा नै पुग्छ’, संगीतकार पोखरेलले भने।
निर्देशक पुर्नेन्दु झाको पनि फिल्मको पहिलो प्रचार नै गीतमार्फत हुने गरेकाे बताउँछन्। गीतसंगीतकै कारण आम दर्शकलाई फिल्मको बारेमा जानकारी हुने गरेको उनको भनाइ छ।
‘अहिले फिल्मको प्रचारप्रसार गीतबाट सुरु हुने प्रचलन छ। किनकि यसले पहिलो प्रभाव पार्छ। त्यसपछि अन्य टिजर/ट्रेलर सामग्री सार्वजनिक गर्ने गरेका छौँ’, निर्देशक झाले भने।
उनले आफू निर्देशित पहिलो फिल्म ‘संरक्षण’ को गीतमा होलीको माहोल सिर्जना गरेका थिए। गीतसंगीत लोकप्रिय नभएका फिल्महरू असफल पनि भएका छन्। केही थोरै फिल्म छन्, जसमा गीतसंगीतको आवश्यकता देखिएको छैन। रासस




