काठमाडौँ- फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ आगामी फागुन १ देखि प्रदर्शन हुँदैछ। फिल्म सुदीप भूपाल सिंहले निर्देशन गरेका हुन्।
सुदीपको निर्देशनमा बनेको यो तेस्रो फिल्म हो। यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए। उनी ९ वर्षपछि फिल्म निर्देशनमा फर्किएका हुन्।
बुकुरोको अर्थ हो घर अथवा सानो झुपडी। पश्चिमतिर बोलिने शब्दलाई फिल्मको शीर्षक बनाउँदै निर्देशक सुदीपले यसपटक पारिवारिक फिल्म बनाएका छन्। फिल्म परिवारको एकता र सकारात्मक सोचको कथा रहेको निर्देशक सिंहले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बताए।
बुकुरो अगाडि श्री थपेर उनले फिल्मलाई द होम कलिङ बनाएका छन्। ‘बुकुरोको अगाडि श्री राख्नुको अर्थ सम्मान हो। जाे सम्मानित छ त्यसमा हामीले श्री लेख्छौँ। कुनै शुभकार्यको निमन्त्रणा दिँदा नामको अगाडि लेखिने श्री जस्तै हो,’ उनले भने। घर फर्किरहेछन् श्री बुकुरो भन्ने हेतुले फिल्मको नामकरण ‘श्री बुकुरो : द होम कलिङ’ गरिएको उनले प्रस्ट्याए।
बुकुरोकै कथा किन रोज्नुभयो भन्ने प्रश्नमा उनी भन्छन्, ‘हामीले फिल्मको ट्रेलरमा एक दृश्य समेटेका छौँ, बाटोमा घर फर्किँदै गरेको आमा र छोराको दृश्य। त्यो दृश्यले मलाई आकर्षित गर्यो। र, तिनै आमा र छोराको विगत पक्कै छ। त्यो यात्राको भविष्य पनि होला भन्ने सोचेर कथा बुनेको हुँ।’
घर फर्किनेको विषय समेटिएता पनि फिल्म पूरै घर फर्किने अभियान नभएको उनले स्पष्ट पारे। ‘घर के कुरालाई मान्ने भन्ने महत्त्वपूर्ण हुन्छ। विदेश हुनेलाई नेपाल फर्किनु घर होला। दिनभर बाहिर रहेर साँझ घर फर्किनुलाई कसैले घर भन्लान्। बुझाइ आ-आफ्नै हुन्छ। तर यो घर फर्कने अभियानमा बनेको फिल्म होइन।’
निर्देशकका अनुसार फिल्ममा आमाको कथालाई प्राथमिकता दिएको छ। आमाकै वर्णन गर्दै कथा प्रस्तुत गरिएको र समग्रमा घरलाई समेट्नुपर्ने भाव व्यक्त गर्न खोजिएको छ। ‘घर सानो वा ठूलो जे भए पनि आमाले लागि बुकुरो नै श्री र सम्पत्ति ठानिरहेकी हुन्छिन्। घर परिवारलाई उनले नै एकताबद्ध गरिरहेकी हुन्छिन्,’ उनले भने।
सुदीपकै लेखन रहेको फिल्ममा वरिष्ठ अभिनेत्री लक्ष्मी गिरी मुख्य भूमिकामा छिन्। फिल्ममा उनी तीन छोराकी आमा हुन्। तीनै छोराहरूसँग आमाको सम्बन्ध, घरप्रति आमाको मायासँगै र पारिवारमा एकता आवश्यक छ भन्ने नै फिल्मको मूल मर्म रहेको निर्देशकले प्रस्ट्याए।

निर्देशकको कुरामा सहमति जनाउँदै अभिनेत्री गिरीले फिल्म एक संयुक्त परिवारको कथामा बनेको बताइन्। फिल्मले एक परिवारमा बाआमाको त्याग र समर्पण पारिवारिक एकता, धार्मिक तथा सांस्कृतिकजस्ता विषय उठाइएको उनले थप प्रष्ट पारिन्। गिरी नैतिक शिक्षासँगै एउटी आमाले गर्ने संघर्ष र परिवारलाई एकताबद्ध कसरी गर्ने भन्ने कुरामा फिल्म बढी केन्द्रित रहेको बताउँछिन्।
‘यो फिल्ममा घरका सबै परिवार छोराछोरी, बुहारी, दाजुभाइलाई मिलाएर राख्न एक आमाको भूमिका र योगदान कस्तो हुन्छ भन्ने देखाउन खोजिएको छ,’ उनले भनिन्, ‘संयुक्तरूपमा कसरी बराबर गर्ने भन्ने कुरा मैले आफ्नो अनुभवसहित यो फिल्ममा काम गरेकी छु।’
समाजमा अहिले मानिसको घरमात्रै ठूलो र एकता कम भएको आफूले महसुस गरिरहेको उनको बुझाइ छ। एकताबद्ध गर्ने दृष्टान्त अहिलेको समाजले र परिवेशले छुटाउँदै गएको भन्दै उनले ‘श्री बुकुरोले त्यसलाई एकतामा बाँध्ने काम गर्ने उनको दाबी छ।
‘पहिले घर सानै भए पनि सबै जना मिलेर बस्थ्यौँ। लस्करै एकै ठाउँमा सुत्थ्यौँ। तर अहिले मानिसको ठूलो घर छ। कोठापिच्छे एक जना सुत्छन् तर उनीहरूमा एकता देखिँदैन,’ उनले भनिन्। मान्छेलाई बुकुरोको किन आवश्यक पर्छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘बाँचुञ्जेलको आकार भनेकै परिवार हो। हामी जतिसुकै धनी भए पनि जे काम गरे पनि अथवा गरिबै भए पनि हामीलाई परिवारभित्र बाँच्ने, परिवारभित्र नै टाउको लुकाउने एउटा ठाउँ सकारात्मक हुनुपर्छ।’
फिल्ममा बढी मात्रामा साहित्य र दर्शनको कुरा पनि जोडिएको उनले खुलाइन्। साहित्य र दर्शनका कुरालाई अहिलेको समय र परिस्थितिमा कसरी क्यारी गर्छ भन्ने देखाउन खोजेको भन्दै उनले फिल्मबाट आफू एकदमै आशावादी रहेको बताइन्।
०००
फिल्ममा कलाकार आशीर्वाद बी क्षेत्री कान्छो छोराको भूमिकामा छन्। पेसाले उनी आर्मीको क्याप्टेन हुन्। कान्छो भएपछि आर्थिक र व्यावहारिक हिसाबले आफू एक जिम्मेवारी पात्रको भूमिकामा रहेको कलाकार क्षेत्री बताउँछन्।
‘नाईं न भन्नु ल ६’ बाट नेपाली फिल्ममा डेब्यु गरेका क्षेत्रीको यो दोस्रो फिल्म हो। पहिलो फिल्ममा लभर ब्वाइको पहिचान बनाएका क्षेत्रीले दोस्रो फिल्म चरित्रप्रधान रोजेका छन्। ‘पहिलो फिल्ममा नायकको भूमिकामा थिए दोस्रोमा मैले चरित्रको हिसाबले काम गरेको छु,’ उनले भने।
फिल्मले नयाँ सोचअनुसार पुरानो घरलाई बचाउँनुपर्छ भन्ने भाव बोकेको श्रेत्रीको बुझाइ छ। ‘यो फिल्म नयाँ सोचअनुसार पुरानो घरलाई बचाउनुपर्छ भन्ने पक्षमा छ। त्यसको महत्त्व कतिको हुन्छ भन्ने कुरालाई राम्रोसँग व्याख्या गरेको छ,’ उनले भने।
आमाको कथा भएकोले प्राथमिकताको साथ फिल्ममा काम गर्न इच्छुक भएको उनले बताए। ‘मेरो आमासँग लगाव निकै छ,’ उनले भने।
पहिलो फिल्म नायकको भूमिका निभाएको र दोस्रोमा चरित्रको अफर आउँदा सजिलै स्वीकार्न कठिन भएको उनले सुनाए। ‘कलाकार भएपछि हिरोइज्म मात्र नभएर क्यारेक्टरमा पनि काम गर्नुपर्छ भन्ने लाग्यो,’ उनी भन्छन्, ‘अर्को कुरा कान्छाको क्यारेक्टर र एउटा पारिवारिक कथा भएकोले फिल्मले आकर्षित गर्यो।’
०००
अभिनेत्री निकिता आचार्यले फिल्ममा कान्छी बुहारी बनेकी छन्। उनी फिल्मको कथा आफ्नो जीवनसँग पनि मेल खाएको बताउँछिन्। ‘फिल्ममा मेरो चरित्रको केही कुरा वास्तविक जीवनसँग पनि मेल खान्छ। मेरो चरित्रले आत्मनिर्भर बन्नुपर्छ, परिवार मैले पनि हेर्नुपर्छ भन्ने भाव बोकेको छ,’ उनी भन्छिन्, ‘वास्तविक जीवनमा पनि म तीन दिदीबहिनीकी माइली हुँ। छोरीमात्र भएकोले मलाई परिवारलाई हेर्नुपर्छ भन्ने सोच पहिलेदेखि आउँथ्यो।’
पारिवारिक कथासँगै फिल्ममा प्रेम कथा पनि रहेको उनले खुलाइन्। स्कुल लेभल पढ्दाको प्रेम पछि व्यावहारिक जीवनमा कसरी यात्रा गर्छ भन्ने पनि दर्शकले हेर्न पाउने उनले बताइन्। ‘बच्चा बेलाको प्रेम जुनबेला केही थाहा नै हुँदैन। स्कुलमा कुनै अपेक्षाबिनाको प्रेम हुन्छ। फिल्ममा त्यो प्रेमको एउटा यात्रा छ। ठूलो भएर व्यावहारिक जीवनमा पहिलेको प्रेमको यात्राहरू पनि आउँछ,’ उनले भनिन्।
अभिनयको हिसाबले निकिताको यो तेस्रो फिल्म हो। यसअघि उनले उनले ‘खेल’ र ‘बाबरी’ फिल्ममा छोटो भूमिकामा काम गर्ने मौका पाएकी थिइन्। फिल्मसँगै उनी थिएटर अभिनयमा पनि सक्रिय छिन्। २०१८ तिर उनले एक्टर्स स्टुडियोमा नाट्य अभिनयको कक्षा लिएकी थिइन्।
फिल्म छायांकनको क्रममा अनुभवी कलाकारहरूबाट आफूले धेरै कुरा सिक्ने अवसर मिलेको उनले बताइन्। ‘फिल्म छायांकनको क्रममा सबै पात्रहरू हामी वास्तविक परिवारजस्तै भयौँ। लक्ष्मी आमाले पनि आफ्नो अभिनय अनुभवका कुराहरू सिकाउनुभयो,’ उनले थप भनिन्, ‘आफूलाई एकदम ब्लेस फिल गरिरहेकी छु। दर्शकले पनि हाम्रो फिल्मलाई सकारात्मक उर्जा, परिवारको बन्डिङ, सम्बन्धको रूपमा लिनुहुनेछ भन्ने आशा छ।’
निर्देशक भूपालले पनि आफू लामो समयपछि निर्देशनमा फर्केको र पारिवारिक कथालाई दर्शकले साथ दिनेमा आशावादी रहेको बताए। ‘लामो समयमा दर्शकको स्वाद पक्कै परिवर्तन भएको छ। केही अनुसन्धान गरेँ र पारिवारिक कथा लिएर दर्शकमाझ फेरि आएको छु। आशा छ सबैले मन पराइदिनुहुनेछ, माया गरिदिनुहुनेछ,’ निर्देशक भूपालले भने।
लक्ष्मी, आशीर्वाद, निकिताका अलवा फिल्ममा रश्मी भट्ट, प्रतीकराज आचार्य, रोशनी कार्की, रामबाबु रेग्मी, लय संग्रौला, दीपिका थापा, उत्तम केसीलगायत कलाकारले अभिनय गरेका छन्। फिल्मकी निर्मात्री रुबी सेन सिंह हुन्।




