सिरहा- नेकपा एमाले सिरहाका दुई पूर्व सांसदसहित ५ दर्जन बढी नेताकार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।सिरहाको गोलबजारमा शनिबार अपरान्ह पत्रकार सम्मेलनगरी उनीहरूले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका हुन्।
पार्टी परित्याग गर्नेहरूमा पूर्व सांसद जानकी राम, निवर्तमान सांसद सम्झना थपलिया, पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य, उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज फूलेश्वर नायक, नेपाल उद्योग व्यसायी महासंघका सिरहा जिल्ला अध्यक्ष पशुपति साह, नगर कमिटी सदस्य लक्षमण यादव, गोलबजार ९ नम्वर वडा कमिटी सदस्य वीरेन्द्र कुमार सिंहले पार्टीको साधारण सदस्यसमेत नरहने घोषणा गरेका हुन्।
पार्टीभित्र बढ्दो स्वेच्छाचारिता, व्यक्तिवादी कार्यशैली, विधिपद्धति र सिद्धान्तबाट विचलित तथा आन्तरिक लोकतन्त्रको क्षयीकरणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आफूहरू पार्टी परित्याग गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ।
‘पार्टीलाई सही मार्गमा ल्याउन सुधारका लागि बारम्बार रचनात्मक आवाज उठाउँदासमेत नेतृत्व तहबाट कुनै सुनुवाइ नहुनु, इमान्दार कार्यकर्तालाई निरुत्साहित गर्ने प्रवृत्ति मौलाउनु र विचारभन्दा व्यक्तिको वर्चस्व हामी हुनुजस्ता काराणले हामी बाध्यात्मक परिस्थितिमा पुगेका छौं,’ निर्वतमा सांसद सम्झना थपलियाले बाचन गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरी, शनिबार नै गोलबजार नगारपालिका १० का वडा संयोगकसहित धर्मपुर गाउँका ४ दर्जनबढी नेता कार्यकर्ताले पनि पार्टी परित्याग गरेको घोषणा गरेको छ।
उनीहरूले पनि नेतृत्वको एकात्मक कार्यशैली, कुशासन र नयाँलाई भित्र्याएर पुराना कार्यकर्तालाई पाखा लगाउने प्रवृत्तिले पार्टीमा रहिरनुको औचित्य नरहेको भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन्।
यस अघि पनि नेतृत्वप्रति असन्तुष्टि जनाउँदै दर्जनौं नेताकार्यकर्ताले पार्टी परित्याग गरेका थिए।





