सांकेतिक तस्बिर
काठमाडौँ– प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण प्रहरी अनुसन्धान प्रक्रिया र पत्रकारिता पेसासमेत प्रभावित भएको भनी चिन्ता व्यक्त गरिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा वरिष्ठ प्रहरी अधिकारी एवं सञ्चारकर्मीहरूले यसतर्फ चिन्ता व्यक्त गर्दै सहयोग र सहकार्य हुनुपर्ने धारणा व्यक्त गरे।
विद्युतीय अपराध न्यूनीकरण तथा सचेतना कार्यक्रममा सक्रिय अधिकारी तथा विज्ञहरूले आधुनिक सूचना प्रविधिको दुरुपयोग गरी श्रव्यदृष्य सामग्रीसमेत तयार गरी सामाजिक सञ्जालमार्फत झुठा, काल्पनिक र असान्दर्भिक सूचना र समाचार सम्प्रेषण गरेर जनतालाई दिग्भ्रमित गर्नेहरूका विरुद्ध सहकार्य हुनुपर्नेमा जोड दिए।
सो अवसरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विद्युतीय अपराधसम्बन्धी अनुसन्धनान कार्य जटिल र चुनौतीपूर्ण बन्दै गइरहेको अवस्थामा छुट्टै युनिट गठन गर्नुपर्ने अवस्थामा प्रहरी पुगेको उल्लेख गर्दै विद्युतीय अपराध न्यूनीकरण तथा रोकथामका पक्षमा सहयोग गर्न सञ्चारकर्मीसँग अनुरोध गरे।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा वितृष्णा फैलाउने तत्वका कारण सञ्चारकर्मी र अनुसन्धानमा संलग्न सुरक्षाकर्मी समेत अप्ठ्यारोमा परिरहेको विद्यमान अवस्थामा सहयोग र सहकार्यको विकल्प नरहेको धारणा व्यक्त गरे।
विज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाईंले कार्यपत्र प्रस्तुत गर्दै गलत समाचारका कारण स्वयं मूलधारका आमसञ्चारकर्मीसमेत प्रभावित भएको दृष्टान्त पेस गरे।
प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले पछिल्ला दिनमा विद्युतीय अपराधसम्बन्धी घटना बढेसँगै अनुसन्धान प्रक्रिया थप जटिल बनेको भनी चिन्ता व्यक्त गरे।



