सैनिक कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह

हिमाल प्रेस १५ फागुन २०८२ २०:२५ | Friday, February 27, 2026
14
SHARES
सैनिक कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देलले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित ३२औँ समूहको तालिममा सर्वोत्कृष्ट शिक्षार्थीलाई पुरस्कार प्रदान गरेका छन्। कलेजमा आज (शुक्रबार) आयोजित दीक्षान्त समारोहमा उनले प्रथम हुने सेनानी दीपेन्द्रविक्रम केसी सर्वोत्कृष्ट तथा भारतीय सेनाका मेजर अनमोल चौधरीलाई सर्वोत्कृष्ट अन्तरराष्ट्रिय शिक्षार्थी अधिकृतको पुरस्कार प्रदान गरे।

सो अवसरमा प्रधानसेनापति सिग्देलले कलेजको वार्षिक प्रकाशन शिवपुरी जर्नलको २७औँ संस्करण विमोचन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सोही कार्यक्रममा ‘मास्टर इन स्टाटेजिक स्टडिज’मा कार्यक्रमतर्फ प्रथम भएका भारतीय सेनाका मेजर चौधरीलाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा दीपक आचार्यले पुरस्कार प्रदान गरे।

‘कमाण्डान्ट पेपर’तर्फ प्रथम भएका सेनानी सञ्जय सिलवाल र सहसेनानी विनोदकुमार गुरागाईंलाई शिक्षाधिकृत उपरथी भुवन खत्रीले पुरस्कार प्रदान गरे। उक्त तालिम नेपाली सेनाका ८१, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका एक/एक तथा मित्रराष्ट्र बङ्गलादेश, चीन, भारत, केन्या, माल्दिभ्स, नाइजेरिया र पाकिस्तानका गरी सात विदेशीसहित ९१ जना अधिकृतले पूरा गरेका सेनाले जनाएको छ।

सैनिक कमाण्ड तथा स्टाफ कलेजबाट हालसम्म नेपाली सेनाका एक हजार ३०८, नेपाल प्रहरीका १७, सशस्त्र प्रहरी बल नेपालका २९, राष्ट्रिय अनुसन्धान विभागका २०, रक्षा मन्त्रालयका एक र विभिन्न राष्ट्रहरूका १३२ शिक्षार्थी अधिकृत प्रशिक्षित भएका छन्।

प्रकाशित: १५ फागुन २०८२ २०:२५ | Friday, February 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast