काठमाडौँ- राजनीतिक समाजशास्त्री तथा टिप्णीकार डा.उद्धव प्याकुरेलले नेपालको राजनीतिक संरचना संकटमा रहेको बताएका छन्। हिमालप्रेस टकसोमा डा.प्याकुरेलले नेताहरू प्रायः छोटो समयका लोकप्रियता वा पपुलिस्ट एजेन्डामा निर्भर हुँदा राजनीतिक संरचना नै संकटमा रहेको बताउँछन्।
भोट प्रणालीमा दोष नभए पनि नेताहरूले जनताको वास्तविक माग सम्बोधन नगरेकोले राजनीतिक स्थायित्व कमजोर भएको उनको दृष्टिकोण छ। डा.प्याकुरेलले चुनावी बहस र रणनीतिमा पारदर्शिताको आवश्यकता औँल्याए। उनले भने,‘जनताले नेताहरूको एजेन्डा बुझ्दा मात्रै मतदान र मोनिटरिङ प्रभावकारी हुन्छ।’
उनका अनुसार एउटै चुनावी एजेन्डा दोहोरिँदा दीर्घकालीन नीति स्थायित्वमा बाधा पुर्याउँछ। उनले पार्टीको बहुमत र निर्वाचन प्रणालीको सम्बन्धमा पनि गम्भीर चिन्ता व्यक्त गर्दै ठूला पार्टीहरूले मत प्रतिशत घटाएर बहुमत खोज्ने प्रयास गर्दा प्रणाली कमजोर हुने बताए।
सानो पार्टी र कोलिसनको भूमिका स्पष्ट नभएमा राजनीतिक स्थायित्व कायम राख्न कठिन हुने उनको बुझाइ छ।
फरक प्रसंगमा डा.प्याकुरेलले प्राध्यापक र शिक्षक आवश्यक जनशक्ति तयार पार्न असफल भएको बताए। उनको भनाइमा राजनीतिक र सामाजिक संरचनामा सुधार गर्न, शिक्षा प्रणालीलाई आधुनिक र स्थानीय आवश्यकता अनुसार समायोजन गर्नु आवश्यक छ।
पूरा भिडियो



