लक्ष्मी गिरी अभिनीत फिल्म ‘श्री बुकुरो’ प्रदर्शनमा

हिमाल प्रेस २ फागुन २०८२ ११:१८ | Saturday, February 14, 2026
6
SHARES
लक्ष्मी गिरी अभिनीत फिल्म ‘श्री बुकुरो’ प्रदर्शनमा
काठमाडौँ– पारिवारिक कथामा तयार भएको फिल्म ‘श्री बुकुरो’ शुक्रबारदेखि प्रदर्शन गरिएको छ।  निर्देशक सुदीप भुपाल सिंहका अनुसार ‘श्री’ शब्दले सुन्दरता, शक्ति, बुद्धि र धनको सन्तुलनलाई जनाउँछ । ‘बुकुरो’ को अर्थ हुन्छ सानो घर । यसमै आधारित रहेर फिल्म तयार भएको छ ।  एउटी आमा र उसका तीन भाइ छोरा । दुईको विवाह भइसकेको छ भने कान्छोको विवाहको तरखर छ । विवाहकै तयारीमा हुने घटनाक्रमले निम्त्याउने परिस्थितिमा फिल्म तयार गरिएको छ । पूर्ण पारिवारिक फिल्मले परिवारको महत्व दर्शाउने निर्देशक सिंहले बताए।
उनले भने, ‘अहिले परिवार एकसाथ हुन् कुनै शुभकार्य वा चाडपर्व नै हुनुपर्छ । तर, एउटी आमाको चाहना सबै परिवारसँगै रहेर खुसी र सुखी होस् भन्ने हुन्छ । मैले आमाको भावनालाई समेटेर फिल्म तयार गरेको छु । यो हेरिरहँदा आफ्नो परिवारलाई पक्कै याद गर्नुहुनेछ।’ उक्त फिल्ममा आमाको भूमिकामा अभिनेत्री लक्ष्मी गिरी छन्। कलाकारिता गरेको झन्डै पाँच दशकको यात्रामा अभिनेत्री गिरीले यसपटक कथालाई नेतृत्व गर्ने मौका पाइन्। ‘श्री बुकुरो’को सबैभन्दा शक्तिशाली पात्र निर्वाह गर्ने अवसर पाएको अभिनेत्री गिरीले बताइन्।
‘मलाई तपाइँ नै फिल्मको हिरो (शिर्ष पात्र) होभन्दा कता कता डर पनि लाग्यो । किनकि मलाई लिएर यस्तो कथा अहिले कसैले सोच्छ भन्ने मैले सोच्न छाडेकी थिएँ, तर यो कथा सुनेपछि आत्म विश्वास बढ्यो । फिल्मले परिवार जोड्ने कथा लिएर आएको छ, त्यसैले यो पारिवारिक फिल्म हो’, अभिनेत्री गिरीले भनिन्।  परिवारको एकतामा हुने शक्ति देखाइएको उक्त फिल्ममा घरलाई निर्जीव वस्तु नभई भावना र सम्झनाको प्रतिकको रूपमा चित्रण गरिएको उनले बताइन्।
‘घरसँग जीवनको स्मरण जोडिएको हुन्छ, त्यसैले त्यो निर्जीव होइन । घरको महत्व र परिवारको एकताको विषयलाई केन्द्रमा राखेर तयार गरिएको कथाले दर्शकको मन छुन्छ’, अभिनेत्री गिरीले भनिन्।
फिल्ममा अभिनेत्री गिरीसँगै आशिर्वाद क्षेत्री, निकिता आचार्य, राजन इशान, उत्तम केसी, रोशनी कार्कीलगायतका कलाकारले अभिनय गर्नुभएको छ । आधुनिक युगमा छरिएको परिवारलाई एकीकृत बनाउने आमाको प्रयासमा दर्शक ‘कनेक्ट’ हुने विश्वास अभिनेता आशिर्वाद क्षेत्रीको छ ।
‘आमा, छोरा र परिवारको कथाले फिल्म भवनमा आइपुग्नुभएका दर्शकलाई पर्दाका पात्रसँग जोड्छ भन्ने लागेको छ । यसमा मैले कान्छो छोराको भूमिका निर्वाह गरेको छु, हामी सबै कलाकारको पात्र हाम्रो घर र समाजदेखिने  किसिमका छन्’, उनले भने।
–––
प्रकाशित: २ फागुन २०८२ ११:१८ | Saturday, February 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast