काठमाडौँ- साहित्यकार किरण आचार्यद्वारा लिखित उपन्यास ‘शैलसुते’ सार्वजनिक गरिएको छ। काठमाडौँमा कार्यक्रम गर्दै पुस्तक सार्वजनिक गरिएको हो। उपन्यास पौराणिक कथामा आधारित रहेकाे छ।
कार्यक्रममा लेखक आचार्यसहित पत्रकार तथा लेखक कमल रिजाल, पत्रकार तथा समालोचक राजकुमार बानियाँ, पठन संस्कृतिका अभियन्ता तारा रेग्मी र शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेलले एकसाथ पुस्तककाे लोकार्पण गरे।
पुस्तकबारे समीक्षा गर्दै तारा रेग्मीले ‘शैलसुते’ पौराणिक खोज र अनुसन्धानबाट उत्कृष्ट उपन्यास बनेको बताइन्। उनले पुस्तकमा धर्म परिवर्तन नहुने र इन्द्र राजाले सोमरस बनाउनेलाई थुनामा राखेर पीडा दिएको प्रसंग उल्लेखनीय रहेकाे उनकाे भनाइ थियाे।
‘शैलसुते’ पौराणिक नारीपात्रमाथि लेखिएको कमल रिजालले बताए। उपन्यासको कथन र विषयवस्तुले कौतहूलता प्रदान गर्ने सक्षम बनेको उनको धारणा थियो।
‘पौराणिक आख्यान लेखनका लागि लामो तपस्या र समर्पण चाहिन्छ। यो उपन्यास नारीपात्रमाथि लेखिएको छ। लेखकबाट म प्रभावित भए,’ उनले भने, ‘उपन्यासको कथन र विषयवस्तुले कौतहूलता प्रदान गर्दै निरन्तर तान्दै लैजान्छ र उपन्यास अन्तिमसम्म पनि के होला भन्ने बनाउन सक्षम भएको छ।’
समीक्षक राजकुमार बानियाँले ‘शैलसुते’ दुर्लभ र मोलिक साहित्य रहेको धारणा राखे। लेखक किरण आचार्यले आफ्नो प्रयासलाई पढेर सुझाव सल्लाह दिन अनुरोध गरिन्।
शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य रु ७ सय ९५ रुपैयाँ रहेको छ। उपन्यासकार किरणको यसअघि ‘जरत्कारु’, ‘परशुराम’, ‘अहिल्या’ उपन्यास प्रकाशित छ। यसका साथै उनले कथासंग्रह, कवितासंग्रह, मुक्तकसंग्रह पनि बजारमा ल्याएकी छन्।




