काठमाडौँका ज्येष्ठ नागरिक : ४५२ मध्ये ८२ जनालाई उपचारै पाउन कठिन

हिमाल प्रेस ५ फागुन २०८२ १४:४४ | Tuesday, February 17, 2026
2
SHARE
काठमाडौँका ज्येष्ठ नागरिक : ४५२ मध्ये ८२ जनालाई उपचारै पाउन कठिन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ४५२ ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षण गर्दा ११ जनालाई तत्काल अस्पताल लैजानुपर्ने पाइएको छ। गत माघ १८ गतेदेखि सुरु गरिएको ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण गर्ने क्रममा यस्तो अवस्था देखिएको महानगरपालिकाले जानकारी गराएको छ।

यसै गरी, २०८ जनालाई नियमित निगरानीको आवश्यकता देखिएको कार्यक्रमका ‘फोकल पर्सन’ अस्पताल नर्सिङ निरीक्षक कल्पना श्रेष्ठले जानकारी दिइन्। यस्तै ८४ प्रश्नावलीका आधारमा सर्वेक्षण गरिँदैछ। यसबाट ८२ ज्येष्ठ नागरिक कमजोर आर्थिक अवस्थाका कारण औषधोपचार गर्न कठिन अवस्थामा छन् भने १९२ बीमा नगरिएका ज्येष्ठ नागरिक भेटिए।

श्रेष्ठका अनुसार सर्वेक्षणमा समेटिएका ज्येष्ठ नागरिकलाई हरियो, पहेँलो र रातो  ‘जोन’ मा वर्गीकरण गरिएको छ। हरियो जोन भनेको सुरक्षित अवस्था हो। यो जोनमा भएका ज्येष्ठ नागरिकलाई धेरै निगरानी र हेरचाह आवश्यक पर्दैन। पहेँलो जोनमा रहेका बिरामीलाई चिकित्सक, स्वास्थ्यकर्मी र परिवारको निगरानी तथा हेरचाह आवश्यक पर्छ। तत्काल अस्पताल पठाउनुपर्ने अवस्थाका ज्येष्ठ नागरिकलाई रातो जोनमा राखिएको छ। यस्ता ज्येष्ठ नागरिकलाई तत्काल नजिकको स्वास्थ्य संस्थामा ‘रेफर’ गर्ने थालिएको श्रेष्ठको भनाइ छ।

तथ्यांकमा समेटिएका ३०२ महिला र १५० पुरुष गरी ४५२ ज्येष्ठ नागरिकमध्ये ४२३ जना परिवारसँगै रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिइन्। सर्वेक्षणमा शारीरिक र मानसिक स्वास्थ्य, पारिवारिक तथा सामाजिक अवस्था हेरिन्छ। उनीहरूले नियमित प्रयोग गर्ने औषधि, औषधि प्रयोग गर्ने समय तालिका, तौलमा अनायास आएको परिवर्तनलगायतका विषय हेर्ने गरिएको छ।

ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षणका लागि सबै वडामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ। सत्तरी वर्षमाथिका स्वास्थ्य संस्थामा गएर उपचार गर्न नसक्ने ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमलाई वास्तविकतामा आधारित बनाउन तथ्य संकलन र स्वास्थ्य परीक्षणका लागि टोली परिचालन गरिएको हो। ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित उपचार र सर्वेक्षण थालिएको हो। रासस

प्रकाशित: ५ फागुन २०८२ १४:४४ | Tuesday, February 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast