५४० शिक्षकलाई तालिम दिने काठमाडौँ महानगरको लक्ष्य

हिमाल प्रेस २९ माघ २०८२ १७:४१ | Thursday, February 12, 2026
8
SHARES
५४० शिक्षकलाई तालिम दिने काठमाडौँ महानगरको लक्ष्य

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आधारभूत तहको प्रश्नपत्र निर्माण तथा मूल्यांकनसम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यशाला सम्पन्न गरेको गरेको छ।

पद्मकन्या स्रोत केन्द्रमा आयोजित कार्यशालामा नेपाली, गणित, अंग्रेजी, सामाजिक, विज्ञान तथा प्रविधि र स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक गरी ६ वटा विषयका ४-४ जनालाई प्रशिक्षक बनाउन प्रशिक्षण दिएको हो। यसरी उत्पादन भएका प्रशिक्षकबाट हरेक विषयका ९० जना शिक्षकलाई तालिम दिनेछन्।

यसरी प्रदान गरिएको तालिमबाट ५४० जना शिक्षकहरू प्रश्नपत्र निर्माण तथा मूल्यांकनका लागि प्रशिक्षित हुनेछन्। विद्यार्थी मूल्यांकनका तरिका र प्रत्रपत्र निर्माणलाई स्तरीय तथा समान, समयसापेक्ष एवं वैज्ञानिक बनाउन प्रशिक्षण आयोजना गरिएको हो।

महानगरपालिकाको शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले भने, ‘शिक्षा भनेको योग्यता मापनको सूचक मात्र होइन। शिक्षाले व्यक्तिलाई विपन्नताबाट सम्पन्नता प्रदान गर्न सक्नुपर्छ। यसका लागि काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा संघ सरकारको लगानीमा महानगरपालिकाले १ अरब ३२ करोड रुपियाँ लगानी थप गरेको छ। तर, यसबाट महसुस हुने नतिजा आउनुपर्छ। परिवर्तन देखिने प्रतिफल आउनु पर्छ। यसको पहिलो दायित्व शिक्षक र विद्यालयको हो।’

शैक्षिक गुणस्तर कायम गराउने अनेक आयाम छन्। महर्जनले आगामी योजना सुनाउँदै भने,‘अभिभावकको आर्थिक सामाजिक अवस्थाले पनि शैक्षिक गुणस्तर कायम गराउन भूमिका खेलेको हुन्छ। यसकारण आगामी दिनमा हामी लगानी, शिक्षकको क्षमता विकासको वृद्धि गराउँदै विद्यालयसँग अभिभावकलाई जोडेर कार्यक्रम सञ्चालन गर्नेछौँ। आन्तरिक र वाह्य समन्वयलाई मजबुत बनाउनेछौँ।’

‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ (दोस्रो संस्करण, २०७९) ले विद्यालय शिक्षाको राष्ट्रिय, तहगत, कक्षागत र विषयगत उद्देश्यहरू, विषयगत सक्षमताहरू तथा प्रमुख सिकाइ क्षेत्रहरू व्यवस्थित गरेको छ। तर, यसलाई विद्यालय तथा कक्षाकोठामा कार्यान्वयन पक्ष चुनौतीको रूपमा रहेको छ।’

विद्यालय व्यवस्थापन महाशाखा प्रमुख एवं शिक्षा अधिकृत इन्द्रप्रसाद दाहाल भन्छन्,‘शिक्षक सक्षमताको प्रारूप, २०७२ ले निरन्तर सिकाइ र पेसागत विकासलाई शिक्षकको एउटा प्रमुख सक्षमताको रुपमा उल्लेख गरेको छ। यसैअनुसार हामीले शिक्षकलाई प्रश्न पत्र विकास एवम् मूल्यांकन सम्बन्धी तालिम दिएका हौँ।’

शैक्षिक गुणस्तर परीक्षण केन्द्रका उपसचिव युवराज अधिकारीले भने, ‘विद्यार्थीको ज्ञान, स्मरण, सुत्र, नियम, बुझाइ, तर्क जस्ता बहुपक्षको मूल्यांकन गर्नुपर्छ। बाल केन्द्रित विधिबाट सिकेका सिप र यसको प्रयोग परीक्षण गर्नुपर्छ।’

तालिमबाट महानगरपालिकाले आधारभूत तहको सिकाइ मूल्यांकन गर्ने विधिमा समानता आउनेछ। स्रोत शिक्षक रश्मी तामाङ भन्छिन्, ‘शिक्षकहरूका लागि यो नयाँ अभ्यास हुनेछ।’

राष्ट्रिय पाठयक्रम प्रारूप, २०७६ आधारभूत तहअन्तर्गत कक्षा ४ र ५ को पाठयक्रम २०७८ मा स्वीकृत भएर कार्यान्वयनमा आएको छ। यो प्रारुप २०७९ मा संशोधन भएको छ।

आधारभूत तहअन्तर्गत कक्षा ६, ७ र ८ को पाठ्यक्रम, २०७७ सालमा स्वीकृत भएर कार्यान्वयनमा छ। पाठ्यक्रम विकास केन्द्रबाट कक्षा ४ देखि ८ सम्म तहगत र कक्षागत विषयगत विशिष्टिकरण तालिका विकास गरिएको छ।

विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्यांकन मापदण्ड, २०८० जारी गरिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) ज मा आधारभूत शिक्षा तथा माध्यमिक शिक्षाअन्तर्गत स्थानीय तहको काम, कर्तव्य र अधिकार अन्तर्गत शिक्षण सिकाइ, शिक्षक तथा कर्मचारीको तालिम र क्षमता विकाससम्बन्धी काम पर्छन्।

राष्ट्रिय शिक्षा नीति, २०७६ का १३ बटा उद्देश्यमध्ये ‘शिक्षा प्रणालीका विभिन्न अवयवमा रहेर सेवा प्रवाह गर्ने जनशक्तिलाई उत्कृष्ट नतिजा प्रदर्शन गर्न पेसागत योग्यता, सक्षमता, इमान्दारिता, प्रतिबद्धता र जवाफदेहिता सुनिश्चित गरेर शैक्षिक सुशासन कायम गर्नुलाई एउटा प्रमुख उद्देश्यमा राखिएको छ।

२०७९ देखि २०८८ सम्मका लागि तर्जुमा गरिएको विद्यालय शिक्षा क्षेत्र योजनाले शिक्षाका सबै संरचना र संयन्त्रमा काम गर्ने जनशक्ति र संस्थाको क्षमता अभिवृद्धि गर्नुलाई विद्यालय शिक्षामा सुशासन तथा व्यवस्थापनको प्रमुख उद्देश्य मानेको छ। आर्थिक वर्ष २०८१/८२ देखि २०८५/०८६ सम्मको १६ औँ योजनाले स्थानीय तह मार्फत शिक्षक सहायता प्रणालीको प्रबन्ध गर्ने कुरा उल्लेख गरेको छ।

प्रकाशित: २९ माघ २०८२ १७:४१ | Thursday, February 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast