पोखरा- आगामी प्रतिनिधिसभा सदस्य चुनावका लागि नेकपा (एमाले) बाट कास्की क्षेत्र नम्बर २ का उम्मेदवार रश्मि आचार्यले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। मंगलबार पोखरामा सम्मेलन गरी उम्मेदवार आचार्यले पर्यटन, कृषि, सूचना प्रविधि, सडक सञ्जाल, स्वास्थ्य, खानेपानी, फोहोर व्यवस्थापन, खेलकुद क्षेत्र जोडेर विभिन्न बुँदामा प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्।
उनले भने, ‘यतिबेला देश इतिहासकै अत्यन्त कठिन मोडबाट गुज्रिरहेकाले सामाजिक अराजकता र राजनीतिक संकटबाट संविधान नै धरापमा परेको अवस्थाबाट देशलाई जोगाउन कास्की क्षेत्र नम्बर २ मा मतदातासँग भेटघाट र छलफलबाट उठेका विषयवस्तुलाई जोडेर यो प्रतिबद्धता पत्र सार्वजनिक गरेको हुँ।’
उनले पोखरामा बर्सेनि करिब १० लाख पर्यटक आउने अनुमान गरिएकामा दोब्बर पर्यटक भित्राई पर्यटकीय राजधानी पोखरालाई विश्वकै उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले आफ्नो क्षेत्रमा पर्ने कास्की २ का विभिन्न डाँडाहरुमा भ्यू पोइन्ट, सूर्योदय र सूर्यास्त अवलोकन केन्द्र निर्माण, होम स्टे सेवा प्रोत्साहन, मट्टिखान–हुँडीकोट डाँडामा आकर्षक थिमपार्कसहितको रिजलाइन हाइकिङमार्फत पर्यटकीय गतिविधिमा बिस्तार गर्ने जनाएका छन्। पोखराका विभिन्न मठमन्दिरको जीर्णोद्धार, प्रचारप्रसार, पोखराबाट भीमाद हुँदै कावासोती जोड्ने फास्ट ट्रयाक निर्माण र हवाइ सेवा जनकपुर, विराटनगर र धनगढीसम्म बिस्तार कार्यलाई नियमित गर्न जोड दिने, पोखरामा ‘माइस’ टुरिजम विकास गर्ने बताएका छन्। पोखरामा साहसिक पर्यटन प्रवर्द्धन गर्न मनाङ, मुस्ताङसम्म जाने नयाँ पदमार्गको पहिचान, गण्डकी प्रादेशिक संग्रहालय स्तरोन्नतिमा जोड दिने प्रतिबद्धता जनाए।
यसैगरी, कृषितर्फ अर्मला, मौजा, काहुँ, भरतपोखरी, निर्मलपोखरी, भलाम तथा कृस्तीमा तरकारी तथा फलफूलखेती एवं नगदेबालीको विकासका लागि पकेट जोन बनाएर कृषकलाई उत्पादन आधारमा प्रोत्साहन गर्ने, पोखरामा प्रादेशिकस्तरको दुग्ध संकलन, प्रशोधन र उत्पादन केन्द्रको स्थापना, कृषकलाई पशुपालन एवं प्रांगारिक तरकारी खेतीमा आकर्षित गर्न कृषि उपज तथा पशुधनको बिमा, बाँदर नियन्त्रण, कृषि सिँचाइ, मौजा र अर्मलाको लेकमा उपयुक्त जडीबुटी तथा वन पैदावार उत्पादन एवं पशुपालन फार्मको स्थापना, चिस्यान केन्द्र तथा कोसेली घर निर्माण गर्ने जनाए।
शिक्षा एवं सूचना प्रविधितर्फ सरकारी तथा सामुदायिक विद्यालय तथा क्याम्पसको भौतिक निर्माण तथा स्तरोन्नति, बालविकास कार्यक्रम नियमित बनाउन जनशक्तिदेखि पोषण कार्यक्रमका लागि आवश्यक नीति तथा स्रोतको तय, गण्डकी विश्वविद्यालय र यस क्षेत्रका अन्य शैक्षिक संस्थामा पर्यटन, कृषि, वन, स्वास्थ्य, इन्जिनियरिङ, सूचना प्रविधि, संगीत, खेलकुद, सौन्दर्यशास्त्र जस्ता रोजगारमुखी विषयमा नयाँ कार्यक्रम संचालन गर्न जोड दिने बताए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित वैदेशिक उडान सुचार गर्न छिमेकी देशमा कुटनीतिक पहल गर्न आवश्यक प्रयत्न गर्ने, पोखरामा लिंकरोड निर्माणमा जोड, पोखरा बसपार्कलाई सूचना प्रविधिमैत्री व्यवस्थित सिटी बसपार्क तथा विभिन्न स्थानमा व्यवस्थित ट्याक्सी पार्क निर्माणमा पहल गर्ने जनाए।
क्षेत्र २ का सबै ११ वटै वडामा एकीकृत सेवा केन्द्र, सुरक्षित मातृत्सेवा सहितको स्वास्थ्य चौकी तथा प्रवद्र्धन केन्द्र, ज्येष्ठ नगारिक दिवा सेवा केन्द्र, सामुदायिक सेवा भवन आदिबाट स्थानीय तहसँग समन्वयमा सुविधा बिस्तार गर्ने, हिमालय आँखा अस्पतालको सेवा बिस्तार तथा स्तरोन्नति, सर्वसुलभ उपचारका लागि विशिष्टीकृत सेवासहितको अस्पताल स्थापनामा विशेष पहल, नदी तथा खोलामा तटबन्ध निर्माण, युटिलिटी करिडोर निर्माण गरी सहर व्यवस्थित बनाउन पहल गर्ने, फोहोरबाट ऊर्जा तथा कम्पोस्ट मल बनाउने प्रविधियुक्त उद्योगको स्थापनाका लागि स्थानीय तहको समन्वयमा आवश्यक प्रोत्साहन, विभिन्न वडाका खेलकुद मैदान स्तरोन्नति तथा नयाँ निर्माणमा जोड, उद्यान तथा पार्क निर्माण, भूमिहिन, सुकुम्बासी एवं अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि जमिन र आवासको अधिकार स्थापना गर्न पहल गर्ने, पुरानो विमानस्थल रहेको स्थान संरक्षण र व्यवस्थापन गर्ने, ‘सबको साथ सबको विकास सँगसँगै विकास र जीवनसँग जोडिएको विकास’ अवधारणाअनुरुपको कार्यक्रम अगाडि बढाउने, युवा स्वरोजगार कार्यक्रम प्रभावकारी बनाउने, पुँडिटारमा प्रादेशिक औद्योगिक क्षेत्रलाई आधुनिक पूर्वाधारसहितको निर्माणमा पहल गर्ने प्रतिबद्धता उनको छ।
पोखरा ३३, भरतपोखरी निवासी युवा नेता आचार्य अनेरास्ववियूका पूर्व केन्द्रीय उपाध्यक्ष एवं पृथ्वीनारायण क्याम्पसका पूर्व स्ववियु सभापति पनि हुन्। अधिवक्ता समेत रहेका उनी बौद्धिक व्यक्तित्वको रुपमा राजनीतिकवृत्तमा परिचित छन्।
आगामी चुनावमा कास्की २ मा काँग्रेसबाट माधव बास्तोला (मधु), रास्वपाबाट उत्तम पौडेल र नेकपाबाट किरण थापा उनका मुख्य प्रतिस्पर्धी हुन्।




