‘जेरी अन टप’ भारतमा प्रदर्शन हुँदै

हिमाल प्रेस १३ फागुन २०८२ १७:३४ | Wednesday, February 25, 2026
12
SHARES
‘जेरी अन टप’ भारतमा प्रदर्शन हुँदै

काठमाडौँ- अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ भारतमा प्रदर्शन हुने भएको छ। फिल्म यही फेब्रुअरी २७ देखि भारत प्रदर्शन गर्न लागेको निर्माण टिमले जनाएको छ। फिल्मका वितरक असली प्रोडक्सन हो।

भारतको दार्जिलिङ, सिक्किम, देहरादुन, दिल्ली, कालिङपोङ, सिलिगुरी र कोलकातासहित नेपाली भाषी दर्शक रहेका अन्य ठाउँमा प्रदर्शन गर्ने टिमले जनाएको छ।

प्रदर्शनको पूर्वसन्ध्यामा फेब्रुअरी २६ अर्थात् भोलि गान्तोकमा प्रिमियर सो आयोजना गरिएको छ। प्रिमियरमा अभिनेता अनमोल केसी, भुवन केसी, अभिनेत्री जसिता गुरुङसहित फिल्मका कास्ट एन्ड क्रू टिम सहभागी हुनेछन्।

कार्यक्रममा चर्चित गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाको विशेष प्रस्तुतिसहितको उपस्थिति रहने निर्माता सरोज न्यौपानेले बताए। फिल्म युनिट यतिबेला सिक्किम पुगिसकेको छ ।

फिल्मको कथा सगरमाथा आरोहणको साहसिक कथामा बनेको छ। फिल्मले प्रेम, सम्बन्ध र युवापुस्ताको भावनात्मक यात्रालाई केन्द्रमा राखेको छ। सुयोग गुरुङ फिल्मका निर्देशक हुन्।

गत असोजमा नेपाल र अन्य देशमा एकसाथ प्रदर्शन भएको फिल्मले विश्वभर १७ करोड माथिको कलेक्सन गरेको टिमले जनाएको छ। अनमोल र जसितासँगै आँचल शर्मा, केदार घिमिरे, भुवन केसी, उषा खड्गीलगायत कलाकारको अभिनय छ।

प्रकाशित: १३ फागुन २०८२ १७:३४ | Wednesday, February 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast