जावलाखेल आहा रारा गोल्डकपको फाइनलमा

हिमाल प्रेस ७ फागुन २०८२ १९:०४ | Thursday, February 19, 2026
6
SHARES
जावलाखेल आहा रारा गोल्डकपको फाइनलमा

पोखरा- आत्मघाती गोलको दुर्भाग्य एवं विपक्षी १० खेलाडीमा सीमित हुँदाको अवस्थालाई अवसरमा बदल्न नसक्दा उज्वेकिस्तानको फुटबल टिमले २५औँ आहा रारा पोखरा गोल्डकपको यात्रा सेमिफाइनलबाटै टुंगाएको छ।

पोखरा रंगशालामा बिहीबार दोस्रो सेमिफाइनलमा जावलाखेल युथ क्लबसँगको प्रतिस्पर्धामा आभा फुटबल क्लब १-० गोलअन्तरले फाइनल पुग्नबाट वञ्चित बनेको हो। यता आहा रारा गोल्डकपमा १४ वर्षपछि फाइनलमा पुगेको जावलाखेलले अब शनिबार आयोजक सहारा क्लब पोखरासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

बिहीबारको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर पाहुना टोलीका लागि ५२ औंं मिनेटमा आभा आत्मघाती गोलको शिकार हुनु नै दुर्भाग्य बन्यो। विपक्षी धमेन्द्र कुँवरले गरेको क्रस प्रहार रोक्ने क्रममा आभाका खुसान गानिजानोभले हानेको बल आफ्नै पोस्टमा पुगेको हो।

त्यसको १३ मिनेट नबित्दै खेलको ६५ औं मिनेटमा जावलाखेल १० खेलाडीमा सीमित भयो। विपक्षी खेलाडीलाई फल हानेपछि युवराज ढकालमाथि रेफ्री प्रज्ज्वल क्षेत्रीले रातो कार्ड देखाएका थिए। क्षेत्रीले मैदान छाडेपछि पाहुना टोलीले त्यसको फाइदा लिन सकेन।

प्रशिक्षक लिन्डे डेभिड हेन्डरसनले यसबारे सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै फुटबल टेक्निकल खेल भएको बताए। उनले आफूहरूले बराबरी गर्ने प्रयास गरे पनि विपक्षीले खेल रणनीति बदलेको उल्लेख गरे। उनले नेपालमा आतिथ्यता राम्रो पाएको र नेपाली फुटबलले पनि विकास गर्दै गएकोमा खुसी व्यक्त गरे।

प्रतियोगितामा प्लेयर अफ दी म्याचको उपाधि जावलाखेलका जोखिडजोन राखीमोभ घोषित भए। उनले नगद १० हजारसहित ट्रफी पुरस्कार प्राप्त गरेको आयोजक सहारा क्लब पोखराले जनाएको छ।

जितपछि जावलाखेल प्रशिक्षक सुनिलकुमार श्रेष्ठ आभासँगको प्रतिस्पर्धा नै फाइनल जस्तो लागेको बताए। राम्रो टिमलाई हराउन सकेकामा उनी सन्तुष्ट देखिए। आभा टिम बलियो टिम थियो। जबकि उसले शनिबार २६ औ बूढासुब्बा गोल्डकपको विजेता प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँलाई क्वार्टरफाइनलमा १–० गोलअन्तरले पराजित गरी सेमिफाइनल पुगेको थियो।

सहाराले भने उद्घाटन खेलमा गोर्खा इन्टरनेसनल फुटबल क्लबलाई हराउँदै विजयी यात्रा सुरुआत गरेको थियो। क्वार्टरफाइनलमा विभागीय नेपाल पुलिस फुटबल क्लब र सेमिफाइनलमा आहा रारामा ६ पल्टसम्मको उपाधि विजेता मनाङ मर्स्याङ्दी क्लबको चुनौती पन्छाउँदै फाइनल पुगेको हो।

शनिबार हुने फाइनलमा विजेताले १४ लाख र उपविजेताले ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित: ७ फागुन २०८२ १९:०४ | Thursday, February 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast