काठमाडौँ- इजरायली नेत्रविशेषज्ञहरूको एक टोलीले पोखराका ग्रामीण क्षेत्रका बासिन्दाहरूलाई निःशुल्क रूपमा चस्मा वितरण गरेको छ। नेपालस्थित इजरायली राजदूतावासका अनुसार पोखरा महानगरपालिका-२३ स्थित घाँटीछिन्ना र आसपास गाउँका सयौँ बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई चस्मा प्रदान गरिएको हो।
दुई महिनाअघि उक्त क्षेत्रको भ्रमणमा आएका इजरायली नेत्रविशेषज्ञहरू एम. योसिफोभिच, वाई. सेगल, एन. वेइस र डी. गोल्डुसरले स्थानीयको आँखा परीक्षण गरेका थिए। सोही परीक्षणका आधारमा इजरायल फर्किएर उनीहरूले सम्बन्धित व्यक्तिहरूको दृष्टि क्षमता अनुसारको चस्मा तयार पारी नेपाल पठाएका हुन्।
बिहीबार घाँटीछिन्नामा एक कार्यक्रम गर्दै इजरायली राजदूतावासकी नियोग उपप्रमुख जनान बेबरले लाभग्राहीहरूलाई ती चस्माहरू हस्तान्तरण गरिन्।
यो कार्यक्रमले नेपाल र इजरायलबीचको जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाएको दूतावासले जनाएको छ।





