भारतीय वित्तमन्त्री निर्मला सीतारमण/तस्बिर एपी
काठमाडौँ- भारत सरकारले नेपाललाई ८ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ। आइतबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले संसदमा आर्थिक वर्ष २०२६/२७ को बजे प्रस्तुत गर्दै यो जानकारी दिइन्।
सीतारमणले संसदमा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई ८ अर्ब भारतीय रुपैयाँ (१२ अर्ब ८० करोड नेपाली) अनुदान दिने उल्लेख गरिएको छ। यो अनुदान चालु आर्थिक वर्षभन्दा एक अर्ब भारतीय रुपैयाँ बढी हो।
छिमेकी मुलुकमध्ये भारतले सबैभन्दा बढी भुटानलाई अनुदान दिने भएको छ। भुटानलाई भारतले २ हजार २८८ करोड भारतीय रुपैयाँ उपलब्ध गराउने भएको हो। यो रकम चालु आर्थिक वर्षको भन्दा बढी हो। चालु आर्थिक वर्षमा भारतले भुटानलाई १ हजार ९५० करोड रुपैयाँ अनुदान विनियोजन गरेको थियो।
त्यस्तै भारतको आगामी बजेटमा माल्दिभ्सलाई ५५० करोड, म्यानमारलाई ३ सय करोड, श्रीलंकालाई ४ सय करोड, अफगानिस्तानलाई १५० करोड, बंगलादेशलाई ६० करोड, अफ्रिकी मुलुकहरूलाई २२५ करोड र मंगोलियालाई २५ करोड भारतीय रुपैयाँ उपलब्ध गराउने उल्लेख छ।



