नेपालको जेनजी आन्दोलनमा पत्नी गुमाएका भारतीयले मागे एक अर्ब क्षतिपूर्ति

हिमाल प्रेस २८ माघ २०८२ १७:४१ | Wednesday, February 11, 2026
26
SHARES
नेपालको जेनजी आन्दोलनमा पत्नी गुमाएका भारतीयले मागे एक अर्ब क्षतिपूर्ति फाइल तस्बिर

काठमाडौँ- गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा आफ्नी श्रीमती गुमाएका भारतको गाजियाबादका एक व्यवसायीले क्षतिपूर्तिको माग गर्दै दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका छन्।

भारतीय केन्द्र सरकारको लापरबाहीका कारण आफ्नी श्रीमतीको मृत्यु भएको आरोप लगाउँदै रामवीरसिंह गोलाले सरकारसँग २५ करोड र ह्यात होटलसँग ७५ करोड गरी कुल एक अर्ब भारतीय रुपैयाँ क्षतिपूर्ति माग गरेको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ। यसैगरी उनले उक्त घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेका छन्।

दिल्ली उच्च अदालतले उक्त मुद्दामा फेब्रुअरी २६ मा सुनुवाइ गर्ने भएको छ।  निवेदकका अधिवक्ताले अधिकारीहरूको व्यवहार संविधानको धारा २१ अन्तर्गतको मौलिक ‘बाँच्न पाउने अधिकार’ का साथै विदेशमा रहेका नागरिकलाई सुरक्षा प्रदान गर्ने भियना महासन्धिको समेत उल्लंघन भएको तर्क गरेका छन्।

निवेदक श्रीमतीका साथ सेप्टेम्बर २०२५ मा नेपालको तीर्थयात्रामा थिए। उनी काठमाडौंको ह्यात रिजेन्सीमा बसिरहेका थिए।

काठमाडौँमा भएको जेनजी आन्दोलनमा आफूहरू असुरिक्षत रहेको विषयमा बारम्बार गुहार गर्दा पनि भारतीय दूतावास वा विदेश मन्त्रालयले कुनै उद्धार वा कूटनीतिक हस्तक्षेप नगरेको मुद्दामा उल्लेख छ। अधिकारीहरूले आफ्नो संवैधानिक कर्तव्य त्यागेको र निवेदकलाई विदेशी भूमिमा टुहुरोझैँ छोडिदिएको निवेदनमा उल्लेख छ।

सुरक्षित प्रस्थानका लागि सहयोग गर्नुको सट्टा होटल व्यवस्थापन नियतवश गलत सूचना दिएर, लापरबाही गरेको आरोप पीडितको छ।

न्यायाधीश पुरुषैन्द्र कुमार कौरवले पीडितका माग परिमार्जन गरिएन भने अदालतले यस मुद्दालाई अगाडि बढाउन नसक्ने बताए। उनले प्रश्न गरे, ‘यो नेपालमा भएको कुरा हो जहाँ केही घटना घट्यो। होटलले तपाईंलाई केही गर्न भन्यो। हामीले कसरी निर्णय गर्न सक्छौँ र?’

प्रकाशित: २८ माघ २०८२ १७:४१ | Wednesday, February 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast