पोखरा– भारतले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू – १९ महिला फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ।
शनिबार पोखरा रंगशालामा भएको फाइनलमा बंगलादेशलाई शून्यका विरूद्द चार गोलले पराजित गर्दै भारत उपाधि जित्न सफल भएको हो।
जबकि च्याम्पियनसिपमा सर्वाधिक विजेता बंगलादेश जारी यो संस्करणमा लिग चरणमा समेत अपराजित थियो।
भारतलाई उपाधि दिलाउन खेलको ४३ औँ मिनेटमा जुलनले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्। दोस्रो हाफमा थप ३ गोल भएको हो।
भारतकी एलिजावेथ लक्राले पेनाल्टीबाट गोल गरी गोलअन्तर दोब्बर पारिन्। बंगलादेशी टिम खेलमा फर्किन कोसिस गरे पनि सकेन। भारतका लागि थप गोल पर्ल फरनान्डेज र अन्विता रघुरमणले गरेकी हुन्। लिग चरणमा भारतले भुटानलाई हराउँदा पर्लले ह्याट्रिक गरेकी थिइन्।
साफ महासचिव पुरूषोत्तम कट्टेलको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा विजेता टिमलाई ट्रफी प्रदान गरिएको थियो।
नेपालसहित भारत, बंगलादेश र भुटान गरी ४ देशले भाग लिएको च्याम्पियनमा एकमात्र जित हात पारेको नेपाल र अंकविहीन भुटान लिग चरणबाटै आउट हुन पुगेका थिए।



