काठमाडौँ- भारत सरकारले निर्वाचनका लागि नेपाल सरकारलाई आवश्यक सवारीसाधन हस्तान्तरण गरेको छ।
बिहीबार गृहमन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री ओमप्रकाश अर्याललाई भारत सरकारले उपहारस्वरुप प्रदान गरेको सवारीसाधन हस्तान्तरण गरेका हुन्।
भारतले पहिलो लटमा ६१ वटा, दोस्रो लटमा २५४ वटा सवारी हस्तान्तरण गरेको थियो भने बिहीबार तेस्रो लटमा २२३ वटा सवारीसाधन प्राप्त भएको गृह मन्त्रालयमा प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए। त्यस्तै नेपाली सेनाका लागि ५० वटा गाडी समेत हस्तान्तरण भएको उनले बताए।
भारत सरकारले नेपाल सरकारलाई अनुदान स्वरुप उपलब्ध गराउने प्रहरीका सामग्रीहरू पनि आउने क्रममा रहेको प्रवक्ता काफ्लेले जानकारी दिए।
भारत सरकारबाट प्राप्त भएका गाडीहरू सुरक्षा निकायका साथै निर्वाचनसँग सम्बन्धित प्रयोजनका लागि प्रयोग हुने गृह मन्त्रालयले जनाएको छ।



