जेनजी आन्दोलनको असर : पाँच होटल तथा पर्यटन कम्पनी घाटामा

हिमाल प्रेस ४ फागुन २०८२ १५:०६ | Monday, February 16, 2026
2
SHARE
जेनजी आन्दोलनको असर : पाँच होटल तथा पर्यटन कम्पनी घाटामा काठमाडौँको हायात होटल। तस्बिर साभार : हायात होटल

काठमाडौँ- भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको परकम्पन नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरूको दोस्रो त्रैमासिक वित्तीय विवरणमा प्रस्ट देखिएको छ। चालु आव २०८२/८३ को पुस मसान्तसम्म नेप्सेमा बुझाइएको विवरणअनुसार सूचीकृत सातमध्ये पाँचवटा कम्पनी नोक्सानीमा देखिएका छन्।

बन्दीपुर केबलकार, ओरिएन्टल होटल्स लिमिटेड, चन्द्रागिरि हिल्स लिमिटेड, सिटी होटल लिमिटेड र तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले दोस्रो त्रैमासमा घाटा व्यहोरेका हुन्। राजनीतिक अस्थिरताका कारण आन्तरिक र बाह्य पर्यटक आगमनमा आएको तीव्र गिरावटलाई उनीहरूले खराब वित्तीय प्रदर्शनको मुख्य कारण मानेका छन्। यद्यपि सोल्टी होटल लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेड भने यस अवधिमा नाफा कमाउन सफल भएका छन्।

जेजनी आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका थिए भने सार्वजनिक र निजी सम्पत्तिमा अर्बौँ रुपैयाँको क्षति भएको थियो। होटल संघ नेपाल (हान) को अनुमानअनुसार आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीका कारण होटल क्षेत्रले २५ अर्ब रुपैयाँभन्दा बढीको क्षति व्यहोरेको छ।

काठमाडौँ र पोखराका प्रमुख ब्रान्डसहित करिब दुई दर्जन होटल क्षतिग्रस्त भएका थिए, जसमा हिल्टन काठमाडौँ र हायात रिजेन्सी (तारागाउँ रिजेन्सी होटल्स) सबैभन्दा बढी प्रभावित भएका थिए।

चन्द्रागिरि हिल्सले चार करोड ७० लाख रुपैयाँ नोक्सानी बेहोरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको नाफा ६ करोड ६४ लाख रुपैयाँ थियो। यसको सञ्चालन आय ४१.०७ प्रतिशतले घटेर २४ करोड ८९ लाख रुपैयाँमा खुम्चिएको छ। केबलकार र अन्य पूर्वाधारमा क्षति पुगेका कारण कम्पनी मंसिर मध्यसम्म बन्द थियो।

तारागाउँ रिजेन्सीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ९ करोड ८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। रिजेन्सीले अघिल्लो वर्ष यसै अवधिमा १८ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। भौतिक र वित्तीय क्षतिका कारण होटल पूर्ण रूपमा बन्द रहँदा हायात रिजेन्सीलाई ग्रान्ड हायातमा स्तरोन्नति गर्ने योजनासमेत प्रभावित भएको छ।

ओरिएन्टल होटल्स (र्‍याडिसन काठमाडौँ) ले यस अवधिमा दुई करोड ७४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ।

सिटी होटल हायात सेन्ट्रिकले ६ महिनाको अवधिमा १० करोड ९ लाख रुपैयाँ घाटा भएको विवरण सार्वजनिक गरेको छ। यसैगरी घाटा व्यहोरेको अर्को कम्पनीमा बन्दीपुर केबलकार छ। यसको नोक्सानी घटेर ७४ लाख ९० हजार रुपैयाँमा सीमित भएको छ। आन्दोलन र राजनीतिक अस्थिरताका कारण होटल परियोजनामा ढिलाइ भएको कम्पनीले जनाएको छ।

नाफामा रहेका कम्पनीहरू

प्रतिकुल परिस्थितिमा पनि सोल्टी होटल लिमिटेडको खुद नाफा १२.९५ प्रतिशतले बढेर ३४ करोड ७५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कालिञ्चोक दर्शन लिमिटेडले एक करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ।

प्रकाशित: ४ फागुन २०८२ १५:०६ | Monday, February 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast