जेनजीको दबाबमा विभिन्न क्षेत्रका व्यक्तिलाई मन्त्री नियुक्त गरेँ : प्रधानमन्त्री

हिमाल प्रेस १९ माघ २०८२ १७:३६ | Monday, February 2, 2026
6
SHARES
जेनजीको दबाबमा विभिन्न क्षेत्रका व्यक्तिलाई मन्त्री नियुक्त गरेँ : प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा चुनाव सम्पन्न गरी जननिर्वाचित सरकारलाई शक्ति सुम्पन आतुर रहेको बताएकी छन्।

सोमबार राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आगामी निर्वाचन नेपाल राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानविन्दु भएको भन्दै तोकिएको समयमा स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा चुनाव सम्पन्न गरी जननिर्वाचित सरकारलाई शक्ति सुम्पन आतुर रहेको बताएकी हुन्।

प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा लुटिएका हतियारहरूमध्ये अधिकांश बरामद भइसकेको र सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको धारणा राखिन्।

निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी आगामी निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न उनले सबै पक्षसँग अपील समेत गरिन्। उनले जेनजी आन्दोलनपछि शासकीय आकांक्षा बोकेर, कुनै पदको लालसाका लागि नभइ बिथोलिएको संवैधानिक व्यवस्थालाई ट्र्याकमा ल्याउन र देशलाई संकटबाट बचाउन युवा पुस्ताको आग्रहमा प्रधानमन्त्रीको जिम्मेवारी लिएको स्पष्ट पारिन्।

जेनजी आन्दोलनका मागहरुलाई सम्बोधन गर्ने गरी सरकार र आन्दोलनकारी प्रतिनिधिबीच मुलुकको राजनीतिक दिशा बदल्ने ऐतिहासिक सम्झौता सम्पन्न भएको उनले बताइन्। त्यसैका आधारमा सार्वजनिक निकायका कामकारवाहीलाई पारदर्शी र उत्तरदायी बनाई भ्रष्टाचार न्यूनीकरणमा पूर्ण प्रतिबद्धताका साथ सरकार लागिपरेको प्रधानमन्त्री कार्कीले बताइन्।

सार्वजनिक निकाय र नियमनकारी संस्थाहरुले कानुनबमोजिम गर्ने काममा कुनै प्रकारको अवाञ्छित दबाब सरकारले नदिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले पूर्णरुपमा व्यावसायिक स्वतन्त्रताका साथ राज्यका निकायहरुले काम गरिरहेको बताइन्। त्यसैगरी उनले जेनजी युवाहरुको दबाबमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई मन्त्रिपरिषद्मा ल्याएको र अहिले केही व्यक्तिहरु सरकार छाडेर राजनीतिमा होमिँदा त्यसलाई अनावश्यक टिकाटिप्पणी गर्न उचित नभएको तर्क गरिन्।

उनले अहिले राजनीतिमा होमिएका वर्तमान सरकारका पूर्वमन्त्रीहरुसँग कुनै सम्पर्क नरहेको स्पष्ट पारिन्।

प्रकाशित: १९ माघ २०८२ १७:३६ | Monday, February 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast