काठमाडौँ- प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष चन्द्रदेव जोशी र कार्यवाहक अध्यक्ष घनश्याम भुसालले मंगलबार संयुक्त रूपमा घोषणापत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्रमा शिक्षालाई प्रमुख एजेन्डाका रूपमा अघि सार्दै संयुक्तले आगामी १० वर्षभित्र आधारभूत तहदेखि उच्च तहसम्मको सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाइ निजी र सार्वजनिक (सामुदायिक) शिक्षाबीचको भिन्नता अन्त्य गर्ने लक्ष्य लिएको जनाएको छ।
पार्टीले हालको शैक्षिक व्यवस्थाले प्राथमिक तहदेखि नै दुई खालका नागरिक उत्पादन गरिरहेको उल्लेख गर्दै सार्वजनिक शिक्षामा सबैको पहुँच र गुणस्तर सुनिश्चित गर्नु आजको मुख्य चुनौती भएको औंल्याएको छ। दक्ष जनशक्ति निर्माणका लागि शिक्षा प्रणालीमा व्यापक पुनर्गठन आवश्यक रहेको घोषणापत्रमा उल्लेख छ।
संयुक्तले प्रारम्भिक बालविकास तथा विद्यालय शिक्षालाई पुनर्गठन गर्ने प्रस्ताव अघि सारेको छ। जसअनुसार विद्यालयको पहुँच सुनिश्चित गर्ने जिम्मेवारी स्थानीय पालिकालाई, शिक्षाको गुणस्तर कायम गर्ने जिम्मेवारी शिक्षकलाई तथा समग्र व्यवस्थापकीय संयोजनको जिम्मेवारी विद्यालय व्यवस्थापन समितिलाई दिने व्यवस्था गरिने उल्लेख छ।
त्यसैगरी, आधारभूत तहपछि विद्यार्थीको रुचि र क्षमताअनुसार ७० प्रतिशतलाई प्राविधिक शिक्षा र ३० प्रतिशतलाई सामाजिक तथा व्यवस्थापन सम्बन्धी विषय अध्ययनको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरिएको छ। शिक्षामा तीनै तहका सरकारले लगानी गर्ने तथा खर्च गर्न सक्ने क्षमताका आधारमा अभिभावकको योगदान सुनिश्चित गरिने पनि घोषणापत्रमा समेटिएको छ।
हालको पाठ्यक्रमलाई अद्यावधिक गरी वैज्ञानिक र आधुनिक बनाइने साथै माध्यमिक तहमा नेपाल राष्ट्रको निर्माण र विकासमा सबै जातजाति तथा प्राचीन सभ्यताहरूको योगदान, लोकतान्त्रिक आन्दोलन, नागरिक अधिकार र दायित्वसम्बन्धी अनिवार्य पाठ्यपुस्तक समावेश गरिने उल्लेख छ।
शैक्षिक क्षेत्रमा पठनपाठन अवरुद्ध हुने गरी बन्दहड्ताल गर्न नपाइने स्पष्ट व्यवस्था गरिने पनि पार्टीले जनाएको छ।




