रास्वपा नेताहरूलाई ‘चटके’ भन्दै गगनले भने- चटक गरे गाडी दुर्घटनामा पर्छ

हिमाल प्रेस १४ फागुन २०८२ २०:३८ | Thursday, February 26, 2026
20
SHARES
रास्वपा नेताहरूलाई ‘चटके’ भन्दै गगनले भने-  चटक गरे गाडी दुर्घटनामा पर्छ

नेपालगञ्ज- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्ष सुशासनको वर्ष हुने बताएका छन्। नेपालगञ्जको चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै सभापति थापाले पाँच वर्षमा गाडी गतिमा दौडिने र बिना दुर्घटना राजमार्गमा गाडी बेतोडले दौडने बताएका हुन्।

उनले त्यो उत्साह र ऊर्जा बोकेर पाँच वर्ष यो देश बनाउने संकल्पका साथ कांग्रेस उभिएको बताउँदै यो पाँच वर्ष सुशासनको पाँच वर्ष हुने बताएका हुन्। सम्बोधनका क्रममा सभापति थापाले सबै पक्षलाई साथसाथै लिएर कांग्रेसले सरकारको राजमार्गमा दुर्घटना नहुने गरी बेतोडले दौडाउने बताए।

उनले भने, ‘यो पाँच वर्ष सुशील कोइरालाले बनाउनु भएको संविधान भनेको बाटो हो। राजमार्ग हो। त्यो राजमार्गमा गएको सात वर्षको क्षति पूर्ति गर्ने गरिकन गाडी हामी बेजोडले दौडाउँछौँ। बेजोडले। कहीँ नरोकिकन।’

उनले उक्त गाडीमा कोही पनि नछुट्ने दाबी गरे। सभापति थापाले भने, ‘सबैलाई लिएर त्यो गाडीमा। कसैलाई नछोडिकन। सबै जातजाति, भाषा, समुदाय सबैलाई गाडीमा राखेर युवा बुढा सबैलाई राखेर गाडी बेजोडले दौडाउँछौँ।’

उनले गाडी दौडाएर मात्र नहुने उक्त गाडी दुर्घटनामा पनि पर्न नहुने बताए। उनले गाडी चलाउँदा चटकेको जस्तो व्यवहार गर्ने हो भने गाडी दुर्घटनामा पर्ने भन्दै सरकारलाई गाडीसँग तुलना गरेका हुन्।

रास्वपाका नेताहरूतर्फ संकेत गर्दै उनले भने, ‘यहाँ चटक गरेको जस्तो आएर मैले गाडी दौडाएँ भने गाडी उड्छ पनि। म सिटमा बसेँ भने गाडी आफैँ उड्छ। म सिटमा बसेँ भने गाडी आफैँ पौडिन्छ भनेर सुन्न रमाइलो हुन्छ। ताली पनि बज्छ। तर गाडी राजमार्गमै दौडाउने हो।’

सरकारको गाडी चलाउँदा सुझबुझ पनि चाहिने स्मरण गराउँदै सभापति थापाले भने, ‘गतिले दौडाउने हो। तर दौडाउँदै गर्दाखेरि जोखिम पनि लिनुपर्छ। स्पिड पनि चाहिन्छ। अर्कोतिरबाट आएको गाडीलाई नठोक्किओस् भन्नको लागि सुझबुझ पनि चाहिन्छ। कहाँनेर थोरै गति कम गर्ने, कहाँनेर गति बढाउने भन्ने कुराको अनुभव पनि चाहिन्छ। उत्साह पनि चाहिन्छ। ऊर्जा पनि चाहिन्छ।’

सभापति थापाले उक्त ऊर्जा कांग्रेससँग भएको बताए।। उनले भने, ‘त्यो उत्साह र ऊर्जा बोकेर पाँच वर्ष यो देश बनाउने संकल्पका साथ नेपाली कांग्रेस उभिएको छ। यो पाँच वर्ष सुशासनको पाँच वर्ष हुनेछ।’

प्रकाशित: १४ फागुन २०८२ २०:३८ | Thursday, February 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast