काभ्रेपलाञ्चोक- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रे २ मा एक पुराना उम्मेदवारसहित २४ जनाबीच प्रतिस्पर्धा हुँदैछ। निर्वाचनमा १६ दल र आठ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
प्रतिनिधिसभा क्षेत्र २ मा पुराना र नयाँ दलबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो। यस क्षेत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ।
प्रतिनिधिसभा सदस्य निर्वाचन-२०७९ मा प्रत्यक्षतर्फ एमालेका गोकुल बाँस्कोटाले ४५ हजार ३४५ मत ल्याएर विजयी भएका थिए। सोही निर्वाचनको समानुपातिकतर्फ एमाले पहिलो, कांग्रेस दोस्रो, रास्वपा तेस्रो र नेकपा (तात्कलीन माओवादी केन्द्र) चौथो पार्टीका रूपमा रहेका थिए।
यसपटक एमालेका ५४ वर्षीय केन्द्रीय सदस्य अशोककुमार ब्याञ्जू, कांग्रेसका तर्फबाट ६१ वर्षीय केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, रास्वपाबाट ३३ वर्षीय बदनकुमार भण्डारी र नेकपाबाट ५५ वर्षीय बसुन्धरा हुमागाईंले उम्मेदवारी दर्ता गराएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
धुलिखेल नगरपालिकाका नगरप्रमुखसमेत रहेका ब्याञ्जूले समाजले परिकल्पना गरेको र आजको आवश्यकता अनुसारको राजनीतिक प्रणालीलाई सुधार गर्दै समृद्ध मुलुक निर्माणमा योगदान पुर्याउने उद्देश्यले उम्मेदवारी दिएको बताए।
कांग्रेसका उम्मेदवार आचार्यले युवाको भावनाअनुसार मुलुकमा सुशासनसहित भ्रष्टचारमुक्त समाज निर्माण गर्ने तथा दलीयकरणको अन्त्य गरी जनतालाई प्रत्यक्ष सेवा पुर्याउन आफूले उम्मेदवारी दिएको बताए। यस क्षेत्रमा भने कांग्रेस पनौतीका नेता राजेशकुमार श्रेष्ठले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छन्।
त्यस्तै रास्वपाले भण्डारीलाई उम्मेदवार बनाएर युवा पुस्ताको नेतृत्व लिने उद्देश्य बनाएको छ। भण्डारीको पनि मुलुकमा सुशासन कायम गर्न, भ्रष्टचारको नीतिगत अन्त्य गर्दै जेनजीको माग सम्बोधन गर्न उम्मेदवारी दिएको बताए।
नेकपाका तर्फबाट उम्मेदवार बनेका हुमागाईं यसअघि बागमती प्रदेशको कृषि मन्त्रीका रूपमा काम गरिसकेका छन्। उनले भने, ‘देशमा सुशासन, समृद्ध राष्ट्रः सुखी नेपाली, नागरिकले खोजेको परिवर्तन तथा नयाँ पुस्ताको माग सम्बोधन गर्न, किसान, मजदुर र सर्वहारा वर्गको पक्षमा काम गर्न मैले उम्मेदवारी दिएको हुँ।’
निर्वाचन कार्यालयका अनुसार २४ मध्ये दुई दल र एक स्वतन्त्र गरी तीन जना महिला उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। यसपटक पनि दलित उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा छैनन् भने जनजातिका तर्फबाट २५ जनाको उम्मेदवारी परेको छ। काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता छन्। कार्यालयका अनुसार क्षेत्र नं १ मा एक लाख ६१ हजार १०० र क्षेत्र नं २ मा एक लाख ६५ हजार ५११ मतदाता कायम छन्।



