वस्तीमै निःशुल्क ट्युसन, त्यसपछि विद्यालयको यात्रा

हिमाल प्रेस १५ फागुन २०८२ १६:४२ | Friday, February 27, 2026
8
SHARES
वस्तीमै निःशुल्क ट्युसन, त्यसपछि विद्यालयको यात्रा मनहरी गाउँपालिका-४ स्थित वनकरिया वस्ती।

मकवानपुर- पढ्ने उमेर भए पनि मकवानपुरको मनहरी गाउँपालिका-४, वनकरिया वस्तीका ९ वर्षीय रजनी वनकरिया विद्यालय जाँदैन थिइन्। घरदेखि करिब ५०० मिटरकै दूरीमा विद्यालय भए पनि विद्यालय नगई घरमै खेलेर समय बिताउँथे तर अहिले बिहान हुनेबित्तिकै झोलामा कपी-किताब बोकेर पढ्न विद्यालय जान थालेकी छन्।

कुनै बेला पर्साको मध्यवर्ती क्षेत्र चुरेघाँचमा फिरन्ते जातका रुपमा चिनिने लोपोन्मुख वनकरिया जातिलाई सरकारले २०६२ सालमा जंगली जीवनबाट मानव वस्तीमा सारेको थियो। जिल्ला वन कार्यालयले कबुलियती वन समूहअन्तर्गत नौ हेक्टर क्षेत्रफलमा रहेको उक्त वस्तीमा २४ घरपरिवार वनकरिया समुदायको बसोबास गराएको छ। त्यही ठाउँमा ती  जातिका मानिस करिब २० वर्षदेखि बन्दै आएका थिए।

विसं २०७८ को जनगणनाअनुसार वनकरिया जातिको कुल जनसङ्ख्या १८० र मातृभाषा बोल्ने जनसङ्ख्या ८६ मात्र छ। वनकरिया जातिको नेपालको त्यो वस्तीमा मात्र बसोबास रहेको वनकरिया समुदायकी अगुवा सन्तोषी वनकरियाले बताउनुभयो। उक्त वस्तीमा हाल ४५ महिला र ४६ पुरुष गरी ९१ जना वनकरिया रहेको उहाँको भनाइ छ।

केही वर्षअघिसम्मका फिरन्ते वनकरियाले अहिले खेतीपातीसँगैै कुखुरा, बाख्रा र भैँसी पालेका छन्भने कोही ज्याला मजदुरीको काम गर्छन्। आमा–बुबा खेतीपाती र पशुपालनमा व्यस्त हुँदा दिनभरि खेलेरै दिन बिताउँदै आएका सोही वस्तीका सात वर्षीय सौरभ वनकरियाको पनि अहिले दिनचर्या फेरिएको छ। रजनीसँगै सौरभ पनि अहिले घर नजिकैको चेपाङ आधारभूत विद्यालय जान थालेका छन्।

रजनी र सौरभ मात्र होइन, पछिल्लो समय वनकरिया वस्तीका बालकालिकाको शिक्षाप्रतिको आकर्षण बढ्दै गएको छ। अहिले सो वस्तीका सात जना बालबालिका चेपाङ आधारभूत विद्यालयमा अध्ययनरत छन् भने चार जना श्रीपशुपतिनाथ माध्यमिक विद्यालय मसिने गोलघरमा अध्ययनरत रहेको सो वस्तीका अगुवा सन्तोषी वनकरियाले बताइन्।

‘म करिब १० वर्षको छँदा २०६३ सालमा पहिलोपटक विद्यालय पुगेकी थिएँ,’ सन्तोषीले भनिन्, ‘त्यति खेर मानिसहरु वनकरिया भनेर अचम्म मानेर हेर्थे, स्कुलमा सरहरु पनि देख्दा मलाई डर लाग्थ्यो, कहिल्यै त्यसरी अन्य समुदायका मान्छेहरुसँग संगत गरेको थिइन्।’ विस्तारै स्कुल सहज हुँदै गएको र २०७३ सालमा आफूले एसइई परीक्षा उत्तीर्ण गरेको उनले सुनाइन्। त्यो भन्दा अघिल्लो वर्ष २०७२ सालमा सोही वस्तीका पम्फा वनकरियाले सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी थिइन्।

पम्फा र सन्तोषीसँगै आरती वनकरिया, सम्झना वनकरिया, अनिल वनकरिया र विष्णुमाया वनकरिया गरी अहिलेसम्म सो वस्तीका छ जनाले एसइई उत्तीर्ण गरेका छन्। एसइई उत्तीर्ण गरेकामध्ये सन्तोषीले कक्षा १२ सरहको बाली विज्ञान (जीटीए) उत्तीर्ण गरेकी छन्। आरती, सम्झना, अनिल कक्षा १२ मा अध्ययनरत छन्। मकवानपुरको हेटौँडा बहुमुखी क्याम्पसमा अध्ययनरत आरती पत्रकारिता क्षेत्रमा पनि थोरै सक्रिय रहेको बताउँछिन्।

सो वस्तीका बालबालिकाहरुलाई लक्षित गरी मनहरी गाउँपालिका र केही संस्थाहरूले शैक्षिक अभियानअन्तर्गत वस्तीमै निःशुल्क ट्युसन कक्षा र विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु उपलब्ध गराएपछि विद्यालय जाने वनकरिया समुदायको बालबालिकाको सङ्ख्या बढ्दै गएको हो। विगतमा प्राथमिक तहको विद्यालय टाढा हुँदा वनकरिया वस्तीबाट विद्यालय जाने बालबालिकाको सङ्ख्या थोरै थियो तर गाउँपालिकाले वस्ती नजिकै २०७९ सालमा चिसापानीबाट चेपाङ आधारभूत विद्यालय सारेपछि अहिले सो वस्तीबाट विद्यालय जाने विद्यार्थीको सङ्ख्या बढेको आरती वनकरिया बताइन्।

‘पहिला पहिला हाम्रो वस्तीका बालबालिकाहरु स्कुल टाढा छ भनेर विद्यालय नगई खेलेरै दिन बिताउने गरेका थिए तर वस्ती नजिकै स्कुल सारिएको र वस्तीमै निःशुल्क ट्युसन कक्षा सञ्चालन भएपछि बिस्तारै पढाइलेखाइप्रति आकर्षित हुन थालेका छन्,’ आरतीले भनिन्, ‘केही वर्षअघिसम्म विद्यालयमा हाम्रो वस्तीका बालबालिका न्यून सङ्ख्यामा मात्र भेट्थ्यो, अहिले विस्तारै विद्यालय जानेको सङ्ख्या बढ्न थालेको छ।’

वनकरिया वस्तीका अभिभावकहरुले पनि शिक्षाको महत्व थाहा नभएका कारण आफ्ना बालबालिकाहरुलाई विद्यालय पठाउन चाहिरहेका थिएनन्। बिस्तारै अभिभावकहरुमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतनाको विकास भएको सन्तमाया वनकरिया बताउँछिन्। ‘जङगलमा फिरन्ते जीवन बिताइरहँदा आफूहरुले पनि पढ्नुपर्छ भने थाहै थिएन,’ वनकरिया समाजका अध्यक्षसमेत रहेकी सन्तमायाले भनिन्, ‘अहिले फरक संसारमा आएको महसुस भइरहेको छ।’

वनकरिया समुदायको शिक्षाको अवस्थामा सुधार ल्याउन स्थानीय सरकारले वनकरिया वस्ती लक्षित शैक्षिक कार्यक्रम सञ्चालन गरिएको मनहरी गाउँपालिका–४ का वडाअध्यक्ष प्रकाश थापाले बताए। ‘वनकरिया वस्तीका बालबालिकालाई विद्यालयमा भर्ना गराउने, वस्तीकै निःशुल्क ट्युसन कक्षा सञ्चालन गरेका छौँ,’ उनले भने, ‘विद्यालय भर्ना भएका वनकरिया वस्तीका बालबालिकालाई शैक्षिक सामग्री र स्कुल झोला समेत उपलब्ध गराउँदै आएका छौँ।’ महिलाहरुका लागि प्रौढ शिक्षासमेत सञ्चालन गरिएको छ। बिस्तारै समाजमा घुलमिल हुँदै गएकाले वनकरिया समुदायमा चेतनाको विकास भएको छ। -राजु विश्वकर्मा / रासस

प्रकाशित: १५ फागुन २०८२ १६:४२ | Friday, February 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast