साढे १४ किलो गाँजासहित विमानस्थलबाट पक्राउ परे चार भारतीय

हिमाल प्रेस ८ फागुन २०८२ १७:११ | Friday, February 20, 2026
22
SHARES
साढे १४ किलो गाँजासहित विमानस्थलबाट पक्राउ परे चार भारतीय एआईबाट बनाइएको तस्बिर।

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज (शुक्रबार) १४ किलो ५७० ग्राम गाँजासहित प्रहरीले चार भारतीय नागरिकलाई पक्राउ गरेको छ। दिल्लीबाट आएका तीन जना र थाइल्याण्डबाट मलेसिया हुँदै काठमाडौँ आएका एक जनालाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो।

बिहान साढे ६ बजे करिब ११ किलोग्राम २७० ग्राम अवैध लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ परे।

पक्राउ पर्नेहरूमा ४३ वर्षीया समीना अख्तर बैग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद तथा ४४ वर्षीय अफसाना अमीर हुसेन शेख रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले मोहम्मद जुनैद र समीना अख्तर बेग मिर्जालाई करिब तीन किलो ८७० ग्राम र अफसानालाई करिब सात किलो ४०० ग्राम उक्त लागूऔषधसहित आज (शुक्रबार) पक्राउ गरेको उनले बताए।

उनीहरू एयर इन्डियाको उडानमा दिल्लीबाट काठमाडौँ आएका थिए। उनीहरूको गतिविधि शंकास्पद देखिएपछि जाँच गर्दा गाँजा फेला परेको प्रहरीले जनाएको छ।

यस्तै दिउँसो सवा १ बजे थाइल्याण्डबाट मलेसिया हुँदै काठमाडौँ आएका अर्का एक भारतीय नागरिक पनि गाँजासहित पक्राउ परेका छन्। २९ वर्षीय सहजेब अहमदको साथबाट प्रहरीले तीन किलो तीन सय ग्राम गाँजा बरामद गरेको छ।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ फागुन २०८२ १७:११ | Friday, February 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast