प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाको निर्वाचनविरोधी अभिव्यक्ति!

हिमाल प्रेस ६ फागुन २०८२ १७:०३ | Wednesday, February 18, 2026
8
SHARES
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाको निर्वाचनविरोधी अभिव्यक्ति!

काठमाडौँ- मुलुक निर्वाचनमा केन्द्रित भइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले घुमाउरो पारामा निर्वाचन विराधी अभिव्यक्ति दिएका छन्। उनले आगामी निर्वाचनले नेपालका सबै समस्या समाधान गर्न नसक्ने दाबी गरेका हुन्। सरकार र राजनीतिक दलहरू फागुन २१ गते हुने निर्वाचनका लागि जुटेका छन्।

राजनीतिक दलहरू आफ्ना एजेन्डा लिएर बस्तीबस्तीमा पुगेका छन्। निर्वाचन आयोगले २१ गते हुने मतदानको अन्तिम तयारी भइरहेको जनाएको छ। पूर्वराजाले प्रजातन्त्र दिवसका अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै पक्षबीच सहमति गरेरमात्र निर्वाचनमा जान उपयुक्त हुने धारणा व्यक्त गरेका हुन्। उनले भनेका छन्, ‘अहिलेको चुनावले मात्र सबै समस्याको समाधान निस्कँदैन, पहिला सबै पक्षबीच सहमति गरेरमात्र चुनावमा जानु उपयुक्त हुन्छ।’

उनले भने, ‘आवधिक निर्वाचन एक स्वाभाविक प्रक्रिया भए पनि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेरमात्र निर्वाचनमा जानु उचित हुने र निर्वाचनप्रति कुनै द्वन्द्व र अशान्ति नहोस् भनेर राष्ट्रिय सहमति र समझदारी गरेर निर्वाचनमा जाँदा नै सही बाटो हुने थियो।’

भिडियो सन्देशमा पूर्वराजा शाहले प्रजातन्त्र स्थापनामा सघाउने राजा त्रिभुवन तथा सहिदहरूप्रति श्रद्धासुमन अर्पण गरेका छन्। उनले भनेका छन्, ‘देशको अस्तित्व र अस्मिता नै संकटमा परेको महसुस भएको छ। संघर्षको आडमा गरिएका परिवर्तनले नेपाल र नेपालीलाई के दियो भन्ने आत्मसमीक्षा गर्नुपर्ने समय अहिले आएको छ।’ उनले झापाबाट फर्कने बेलामा गत साता  काठमाडौँमा आफूलाई गरिएको स्वागतका लागि धन्यवाद गरेका छन्।

प्रकाशित: ६ फागुन २०८२ १७:०३ | Wednesday, February 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast