काठमाडौँ- चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो सात महिनामा सरकारले ४० अर्ब २८ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरेको छ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रतिबद्धता रकमका हिसाबले ५०.०७ प्रतिशत वृद्धि हो। आर्थिक वर्ष २०२४/२५ का पहिलो सात महिनामा नेपालले ३८६ परियोजनाका लागि २६ अर्ब ८४ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गरेको थियो।
उद्योग विभागका अनुसार समीक्षा अवधिमा कुल पाँच सय २४ परियोजना स्वीकृत भएका छन्। तीमध्ये तीन अर्ब २५ करोड रुपैयाँ प्रस्तावित प्रतिबद्धतासहित तीन सय ५१ परियोजना स्वचालित (अटोमेटिक) प्रक्रियामार्फत स्वीकृत भएका छन्। बाँकी ३७ अर्ब तीन करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका एक सय ७३ परियोजना परम्परागत स्वीकृति प्रक्रियाबाट अनुमोदन भएका छन्।
प्रतिवेदनअनुसार यी परियोजनाबाट २० हजार ८९६ रोजगारी सिर्जना हुने प्रतिबद्धता गरिएको छ।
माघमा मात्रै एक अर्ब ४ करोड रुपैयाँ लगानी प्रतिबद्धतासहित ४९ परियोजना स्वीकृत भएका छन्। यी परियोजनाबाट ६ सय ८७ रोजगारी सिर्जना हुने जनाइएको छ। तीमध्ये ४० करोड ९५ लाख रुपैयाँ लगानी प्रतिबद्धतासहित ३७ परियोजना स्वचालित प्रक्रियाबाट स्वीकृत भएका छन् भने ६० करोड ६ लाख २८ हजार रुपैयाँ लगानी प्रतिबद्धता जनाएका १२ परियोजना परम्परागत प्रक्रियाबाट अनुमोदित भएका छन्।
सरकारले पछिल्ला सात महिनामा ३४ परियोजनामा ४२ लाख ६० हजार रुपैयाँ बराबरका सेयर खरिद तथा शेयर सदस्यता सम्झौता पनि स्वीकृत गरेको छ। यसैगरी उक्त अवधिमा ३३ वटा प्रविधि हस्तान्तरण सम्झौता प्रस्ताव अनुमोदन भएका छन्।
आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनाको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृतिले परियोजनाको संख्या र पुँजी प्रतिबद्धता दुवै हिसाबले केही प्रमुख क्षेत्रमा उच्च केन्द्रीकरण देखाएको छ। समीक्षा अवधिमा स्वीकृत पाँच सय २४ परियोजनाको कुल प्रतिबद्धता ४० अर्ब २८ करोड रुपैयाँ पुगेको छ।
परियोजना संख्याका हिसाबले सूचना तथा सञ्चार प्रविधि क्षेत्र अग्रस्थानमा छ। यसमा दुई सय ८८ परियोजना स्वीकृत भएका छन्, जुन कुल परियोजनाको आधाभन्दा बढी हो। तर यस क्षेत्रमा एक अर्ब २५ करोड रुपैयाँ मात्र प्रतिबद्धता आएको छ।
पर्यटन क्षेत्र परियोजना संख्याका हिसाबले दोस्रो स्थानमा छ, जहाँ १५० परियोजना स्वीकृत भई १० अर्ब ८६ करोड रुपैयाँ प्रतिबद्धता प्राप्त भएको छ। उत्पादनमूलक क्षेत्रमा ३५ परियोजनाका लागि दुई अर्ब ४० करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता सुरक्षित भएको छ।
कृषि तथा वनमा आधारित उद्योगमा १४ परियोजना स्वीकृत भए पनि रकमका हिसाबले सबैभन्दा ठूलो लगानी आकर्षित भएको छ। समीक्षा अवधिमा यस क्षेत्रमा २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। सेवा क्षेत्रमा ३४ परियोजनामार्फत तीन अर्ब ५४ करोड रुपैयाँ प्रतिबद्धता जुटेको छ। ऊर्जा क्षेत्रमा एक परियोजनामार्फत १८ करोड ४२ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ भने खनिज क्षेत्रमा दुई परियोजनामा ११ करोड ५० लाख रुपैयाँ प्रतिबद्धता गरिएको छ।




