काठमाडौँ- युरोपेली मुलुक पोर्चुगलले नेपालमा दूतावास खोल्ने विषयमा आन्तरिक छलफल अघि बढाउने बताएको छ। फुटबलर क्रिस्टियानो रोनाल्डोको मुलुकमा नेपालीहरूको संख्या बढेपछि नेपालले एक वर्ष अघि मात्र दूतावास स्थापना गर्दै राजदूत पठाएको हो। त्यसअघि फ्रान्सबाट पोर्चुगल हेरिँदै आएको थियो।
नेपाल र पोर्चुगलबीचको कूटनीतिक र आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को पहिलो बैठक पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ। सन् २०१८ मा स्थापना भएको यस संयन्त्रको यो पहिलो औपचारिक बैठक हो, जसले दुई मुलुकबीचको सहकार्यका लागि एउटा नयाँ र बलियो आधार खडा गरेको छ। यसमा नेपालमा दूतावास खोल्ने विषयमा पनि नेपाली पक्षबाट गरिएको आग्रहलाई उनीहरूले सकारात्मक लिँदै आन्तरिक छलफल गर्ने भनेको सहभागीले जानकारी दिए।
लिस्बनस्थित परराष्ट्र मन्त्रालयमा सम्पन्न यो बैठकमा द्विपक्षीय व्यापार, लगानी, पर्यटन, संस्कृति, शिक्षा र विज्ञान-प्रविधिका क्षेत्रमा सहकार्य गर्ने महत्त्वपूर्ण सहमति जुटेको छ। बैठकमा नेपाल र पोर्चुगलबीचको राजनीतिक, आर्थिक तथा कन्सुलर मामिलाका समग्र पक्षको गहिरो समीक्षा भएको र नेपालीलाई परेको समस्यालाई समाधान गर्नेमा पोर्चुगल सकारात्मक बनेकाे पनि बैठक नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। दुवै पक्षले जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौती र साझा चासोका क्षेत्रीय तथा बहुपक्षीय मुद्दामा समेत विचार-विमर्श गरे।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले गरे भने पोर्चुगलको तर्फबाट परराष्ट्र तथा सहकार्य मामिला सचिव डा. आना इसाबेल जेभियरले नेतृत्व गरिन्। नेपाली टोलीमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, परराष्ट्रका सहसचिव एवं युरोप महाशाखा प्रमुख गणेशप्रसाद ढकाल, दूतावासका उपप्रमुख शत्रुध्वन पोखरेल र उपसचिव उत्तम घिमिरेसहित अन्य अधिकारीहरूको सहभागिता रहेकाे थियो।

पोर्चुगलमा रहेका नेपाली समुदायले भोगिरहेका कागजात प्रमाणीकरणका समस्यालाई सम्बोधन गर्न नेपाली पक्षले पोर्चुगिजसँग विशेष आग्रहमा उनीहरु सकारात्मक बनेको पनि राजदूत पौडेलले जानकारी दिए। नेपालमा पोर्चुगलको दूतावास स्थापनाका लागि गरिएको आग्रहले दुई मुलुकबीचको प्रशासनिक र कुटनीतिक दूरी कम विश्वास राजदूत पौडेलको छ। ‘यो बैठकले दुई मुलुकबीच नयाँ सम्भावनाको ढोका खोलेको छ,’ उनले भने।
बैठकका क्रममा परराष्ट्र सचिव राईले पोर्चुगलमा रहेका नेपालीप्रति त्यहाँको सरकारले देखाएको सद्भावका लागि धन्यवाद दिए। पोर्चुगिज सचिव डा. जेभियरले भने पोर्चुगलको अर्थतन्त्रलाई चलायमान बनाउन नेपाली समुदायले पुर्याएको योगदानको खुलेर प्रशंसा गरिन्। बैठकपछि डा. जेभियरले नेपाली टोलीको सम्मानमा दिवाभोजको आयोजनासमेत गरेकी थिइन्।
आर्थिक कुटनीतिलाई जोड दिँदै परराष्ट्र सचिव राईले पोर्चुगिज व्यापार तथा लगानी एजेन्सीका अधिकारीहरूसँग भेट गरी नेपालको जलविद्युत्, ऊर्जा प्रसारण र नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी गर्न आह्वान गरे। पोर्चुगिज लगानीकर्ताहरूलाई नेपालको लगानी बोर्डसँग समन्वय गरी अगाडि बढ्न सुझाव दिए।
यसअघि उनले पोर्चुगलको परराष्ट्र मन्त्रालयका महासचिव फ्रान्सिस्को मारिया डि सौसा रिबेरो टेलेससँग शिष्टाचार भेट गरी द्विपक्षीय सम्बन्ध सुदृढीकरणका उपायबारे छलफल गरे। पोर्चुगलमा कागज बनाउन अन्य युरोपेली मुलुकभन्दा सहज हुने हुँदा अधिक नेपाली त्यही बस्ने र काम गर्ने गरिरहेका छन् । तर सन् २०२४ जुन ३ तारिखदेखि पोर्चुगलले नयाँ आउने आप्रवासीलाई कागजात प्रक्रियामा रोक लगाउँदै नयाँ नीति ल्याएपछि नेपालीहरु जाने क्रममा केही ब्रेक लागेको छ। अधिक नेपालीहरू खेति किसानी, माछापालन, ठूला फार्म, होटल र रेष्टुरेन्ट क्षेत्रमा कार्यरत छन्।




