सुर्खेत– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमा ११ जना नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ। १२ मध्ये ११ जना नयाँ उम्मेदवार भएका कारण कांग्रेसले प्रदेशमा आफ्नो प्रभुत्व जमाउने दाबी गरेको छ। यसपटक कांग्रेसमा दोहोरिने उम्मेदवारमा दैलेख- २ मा दिक्पालकुमार शाही मात्र छन्। पार्टीले उनीबाहेक अन्य ११ स्थानमा नयाँ अनुहारलाई अवसर दिएको छ।
प्रदेश राजधानी रहेको सुर्खेत-१ मा विष्णुबहादुर खड्का र सुर्खेत-२ मा नारायण कोइराला मैदानमा छन्। दैलेख- २ मा दिक्पाललाई दोहोर्याएको कांग्रेसले दैलेख-१ मा बासना थापालाई अघि सारेको छ। उनी कांग्रेसले प्रदेशमा उठाएको एक मात्र महिला उम्मेदवार हुन्।
त्यस्तै हुम्लामा जयपति रोकाय, सल्यानमा केशबहादुर बिष्ट, रुकुम पश्चिममा राजु केसी, मुगुमा खड्कबहादुर शाही, डोल्पामा कर्णबहादुर बुढा, जुम्लामा दीपबहादुर शाही, कालीकोटमा हर्षबहादुर बम र जाजरकोटमा खड्कबहादुर बुढा उम्मेदवार छन्।
कांग्रेस कर्णाली प्रदेश प्रचारप्रसार समितिका संयोजक गोविन्द कोइरालाले कांग्रेसले जित्ने आधारमध्ये नयाँ अनुहार पनि एक भएको जिकिर गरे। ‘कांग्रेसले आमनागरिकको मागअनुसार नयाँ उम्मेदवार लाई चुनावी मैदानमा उतारेको छ’, कोइरालाले भने, ‘नयाँ र युवा अनुहार भएका कारण पनि कांग्रेसले यसपालि चुनाव जित्न सक्ने सम्भावना बलियो छ। यसका लागि हामी घरदैलो र प्रचारप्रसारमा आक्रामक रूपमा अघि बढेका छौँ।’
यसपटक कांग्रेसको नयाँ नेतृत्व आएपछि कर्णालीमा पनि धेरैजसो युवा, नयाँ अनुहारलाई उम्मेदवार बनाएर निर्वाचनमा होमिएको उनले बताए। नयाँ, कुनै पनि अप्रिय गतिविधिमा नमुछिएका, बौद्धिक युवाहरुलाई उम्मेदवार बनाएको हुँदा कांग्रेसले यसपटक अघिल्लो निर्वाचनको तुलनामा आफ्नो पकड अझ बढाउने कोइरालाको दाबी छ।
२०७९ को निर्वाचनमा कांग्रेस र तत्कालीन नेकपा माओवादीबीच गठबन्धन भएको थियो। १२ निर्वाचनमध्ये कांग्रेस सुर्खेतका दुवै निर्वाचन क्षेत्र, दैलेख-२ र मुगु जिल्ला गरी चार वटा निर्वाचन क्षेत्रमा निर्वाचित भएको थियो। तत्कालीन माओवादीले चार निर्वाचन क्षेत्र, तत्कालीन एकीकृत समाजवादीले तीन र राप्रपाले एक क्षेत्र पाएका थिए भने नेकपा एमाले शून्य भएको थियो।
यसअघिका निर्वाचनमा तालमेल हुँदा आफ्नो चुनाव चिह्नमा भोट हाल्न नपाएका कांग्रेसका कार्यकर्ताहरू आफ्नै पार्टीका उम्मेदवार हुँदा हौसिएका छन्। जसले गर्दा चुनावको नतिजालाई आफ्नो पक्षमा पार्न सहज भएको कांग्रेस नेताहरूको बुझाइ छ।
‘यसअघिका निर्वाचनमा लामो समयदेखि कार्यकर्ताहरुले आफ्नो चुनाव चिह्नमा मत हाल्न पाएका थिएनन्, यसपालि सबै जिल्लामा हाम्रा उम्मेदवार हुनुहुन्छ’, संयोजक कोइरालाले भने, ‘पार्टीमा युवा नेतृत्व र जनप्रतिनिधि पनि युवा अगाडि सार्दा नतिजा कांग्रेसको पक्षमा पार्न बलियो सम्भावना छ।’
२०७९ को निर्वाचन तत्कालीन माओवादी केन्द्रसँग चुनावी तालमेल हुँदा कर्णाली प्रदेशका जाजरकोट, दैलेख-१, सल्यान, रुकुमपश्चिम, डोल्पा र हुम्लामा कांग्रेसका उम्मेदवार थिएनन्।
यसपालि सबै क्षेत्रमा नयाँ उम्मेदवारहरु भएको हुँदा अघिल्लो पटकको तुलनामा बढी क्षेत्रमा निर्वाचित हुने दाबी कांग्रेसको छ। संयोजक कोइरालाले नयाँ उम्मेदवारहरुको चयन, गुटउपगुट नभनी एकताबद्ध भई निर्वाचनमा होमिनु, नयाँ दृष्टिकोण र विकास निर्माणका यथेष्ट काम गरेको हुँदा अन्य पार्टीको तुलनामा कांग्रेसले धेरै स्थानहरु सुरक्षित गर्ने दाबी गरे।
निर्वाचन आयोगका अनुसार कर्णालीमा नौ सय ४१ मतदान स्थल र एक हजार चार सय ३७ मतदान केन्द्र छन्। प्रदेशमा मतदाताको संख्या १० लाख ३७ हजार दुई ५० छ।






