तस्बिर : एपी
काठमाडौँ- पाकिस्तानको राजधानी इस्लामाबादमा भएको विस्फोटमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने १६० भन्दा बढी घाइते भएका छन्। इस्लामाबादको तरलाई क्षेत्रमा रहेको एक इमामबाडामा विस्फोट भएको हो।
पाकिस्तानका प्रहरी अधिकारीहरूले यसलाई ‘आत्मघाती आक्रमण’ बताएका छन्।
जिल्ला प्रशासनका प्रवक्ताका अनुसार सहरका तीनवटा अस्पतालमा आपतकाली अवस्था लागू गरिएको छ भने घाइतेहरूको उपचारको निगरानीका लागि सहायक आयुक्तहरूलाई विभिन्न अस्पतालमा खटाइएको छ।
विस्फोट भएको स्थानलाई पूर्णरूपमा सिल गरिएको प्रहरीले जनाएको छ।
पाकिस्तानका आन्तरिक मामिलामन्त्री मोहसिन नक्वीको निर्देशनमा गृहराज्यमन्त्री तलाल चौधरी अस्पताल पुगेर घाइतेहरूसँग भेटघाट गरेका छन्।
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इसहाक डारले इस्लामाबादमा भएको विस्फोटको निन्दा गरेका छन्।
डारले सामाजिक सञ्जालमा लेखेका छन्,‘म इस्लामाबादको एक शिया इमामबाडामा शुक्रबारको नमाजका बेला निर्दोष नमाजीहरूमाथि भएको कायरतापूर्ण आत्मघाती आक्रमणको कडा निन्दा गर्दछु।’
प्रार्थना स्थल र नागरिकलाई निशाना बनाउनु मानवताविरूद्धको जघन्य अपराध रहेको बताउँदै उनले यो इस्लामी सिद्धान्तको खुला उल्लंघन रहेको जिकिर गरेका छन्।
डारले पाकिस्तान आतंकवादविरूद्ध एकजुट रहेको उल्लेख गरेका छन्।



