सङ्खुवासभा– यहाँको भोटखोला गाउँपालिका-२ स्थित सानो याकखर्कमा निर्माणाधीन छुजुङ खोला जलविद्युत् आयोजनाको बाटो खन्ने क्रममा आज (सोमबार) ढुंगाले लागेर स्काभेटर चालकको मृत्यु भएको छ।
स्काभेटर चालक चिचिला गाउँपालिका–३ दिदिङका ३८ वर्षीय देवराज राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए। स्काभेटर चालक राई साङ्ग्रीला ऊर्जा कम्पनीमा कार्यरत थिए।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय हेदाङ्नाका प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। उनको शव परीक्षणका लागि आजै (सोमबार) जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।
त्यसै गरी पाँचखपन नगरपालिका-२ भिरकुनामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। आज बिहान खाना पकाउने चुलोबाट अचानक आगलागी हुँदा सिर्जना तामाङको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीबाट तामाङको घरमा भएको खाद्यान्न, लत्ताकपडा, भाडावर्तन जलेर नष्ट हुँदा दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।




