युरोपेली फुटबल क्लबहरूको घाटा एक अर्ब युरोभन्दा बढी

हिमाल प्रेस १४ फागुन २०८२ १३:३९ | Thursday, February 26, 2026
4
SHARES
युरोपेली फुटबल क्लबहरूको घाटा एक अर्ब युरोभन्दा बढी फाइल तस्बिर

काठमाडौँ- शीर्ष युरोपेली फुटबल क्लबहरूले गत वर्ष ३० अर्ब युरोभन्दा बढीको कीर्तिमानी आम्दानी गरे पनि एक अर्ब युरोभन्दा बढी घाटा व्यहोरेका छन्। खेल क्षेत्रमा अर्बौँ युरो लगानी गरिरहेका लगानीकर्ताका लागि यो तथ्यांकले गम्भीर चुनौती दिएको छ।

यूईएफएले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार युरोपभरका शीर्ष लिगमा खेल्ने क्लबहरूको संयुक्त आम्दानी ३० अर्ब युरो नाघ्ने प्रक्षेपण गरिएको छ। जुन अघिल्लो वर्षको २८.६ अर्ब युरोभन्दा बढी हो। यो अनुमान महादेशभरका सात सयभन्दा बढी टोलीहरूको प्रारम्भिक वित्तीय विवरणमा आधारित छ। यद्यपि सबैभन्दा ठूला २५ क्लबले मात्रै कुल आम्दानीको झन्डै आधा हिस्सा ओगटेका छन्।

यूईएफएले प्रायोजन, खेलाडी स्थानान्तरण र प्यान–युरोपेली प्रतियोगितामा भाग लिने टोलीहरूले प्राप्त गर्ने पुरस्कार राशिबाट आम्दानी बढेको उल्लेख गरेको छ। केही देशहरूमा घरेलु प्रसारण अधिकारबाट हुने आम्दानी कमजोर रहे पनि यी स्रोतहरूले त्यसलाई सन्तुलनमा राखेका छन्।

तर क्लबहरूले रंगशाला आतिथ्य सेवा तथा गैर–फुटबल कार्यक्रम आयोजना जस्ता वैकल्पिक आम्दानी स्रोत विस्तार गर्न खोज्दा खर्चसमेत उल्लेख्य रूपमा बढेको छ। सञ्चालन खर्च आर्सनलमा ३५ प्रतिशत, चेल्सी एफसीमा ५१ प्रतिशत र एफसी बार्सिलोनामा १९ प्रतिशतले वृद्धि भएको छ। प्रायः क्लबहरूको सबैभन्दा ठूलो खर्च खेलाडीको तलब वृद्धिदर गत वर्ष ४.८ प्रतिशत पुगेको छ।

बढ्दो खर्चका कारण यूईएफएले २०२५ मा करअघिको संयुक्त घाटा करिब १.१ अर्ब युरो रहने अनुमान गरेको छ, जुन २०२४ को नतिजासँग मिल्दोजुल्दो हो। यद्यपि केही सीमित क्लबहरूको ठूलो घाटाले समग्र चित्र धूमिल बनाए पनि प्रारम्भिक प्रतिवेदन बुझाएका करिब दुईतिहाई क्लबहरूले २०२५ मा नाफा कमाएका छन्।

यूईएफएको तथ्यांकअनुसार अमेरिकी निजी इक्विटी कम्पनी क्लियरलेक क्यापिटलको बहुमत स्वामित्वमा रहेको चेल्सी एफसीले गत वर्ष युरोपमै सबैभन्दा धेरै चार अर्ब सात करोड युरो घाटा व्यहोरेको छ। अमेरिकी स्वामित्वमै रहेको ओलम्पिक लियोनैले एक अर्ब ९६ करोड युरो घाटा बेहोरेको छ भने टोट्टनह्याम हट्सपरले एक अर्ब ४८ करोड युरो घाटा व्यहोरेको छ।

हालका वर्षमा धेरै अमेरिकी कोषसहित पेसागत लगानीकर्ताले युरोपेली फुटबल क्लबहरू किन्न अर्बौं युरो खर्च गरेका छन्। विश्वकै सबैभन्दा लोकप्रिय खेलका ठूला टोलीहरूको स्वामित्वबाट प्रतिफल कमाउने आशा उनीहरूको छ।

हालै एपोलो ग्लोबल म्यानेजमेन्टले स्पेनी क्लब एटलेटिको मड्रिडमा नियन्त्रणकारी हिस्सा किन्ने सहमति गरेको छ, जसले क्लबको मूल्य दुई अर्ब युरोभन्दा बढी आँकलन गरिएको छ। इन्टर मिलान ऋण–विशेषज्ञ हेज फन्ड ओक्ट्री क्यापिटलको नियन्त्रणमा छ भने निजी इक्विटी कम्पनी रेडबर्ड क्यापिटल पार्टनर्सले एसी मिलानको स्वामित्व राखेको छ।

यो प्रतिवेदन यूईएफएको नयाँ वित्तीय नियमअन्तर्गत दोस्रो वर्षको हो, जसले क्लबहरूको आम्दानीको निश्चित प्रतिशतभन्दा बढी खेलाडीमा खर्च गर्न नपाइने सीमा तोकेको छ। इङ्लिस प्रिमियर लिगले पनि अर्को वर्ष यस्तै प्रणाली लागू गर्ने तयारी गरेको छ।

यूईएफएका वित्तीय दिगोपन तथा अनुसन्धान निर्देशक आन्द्रेआ त्राभेर्सोले क्लबहरू क्रमशः सञ्चालन नाफातर्फ फर्किँदै गएको बताए।

प्रतिवेदनले युरोपेली फुटबलमा स्वामित्व हस्तान्तरणको संख्या लगातार तेस्रो वर्ष घटेको देखाएको छ। सन् २०२२ मा २८ क्लबको स्वामित्व परिवर्तन भएकोमा पछिल्लो वर्ष २९ क्लबको मात्र स्वामित्व परिवर्तन भएको छ। यूईएफएका अनुसार निजी पुँजी अब पूर्ण स्वामित्वभन्दा पनि अल्पमत हिस्सा, संरचित इक्विटी र निजी ऋणमार्फत फुटबल क्षेत्रमा प्रवेश गरिरहेको छ, जसले लगानी र नियन्त्रणबीचको विभाजन झल्काउँछ।

प्रकाशित: १४ फागुन २०८२ १३:३९ | Thursday, February 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast