तस्बिर : प्रधानमन्त्रीको सचिवालय
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचन एकै चरणमा हुने स्पष्ट पारेकी छन्।
बिहीबार भक्तपुरस्थीत जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पुगेर मतपत्र छपाइको प्रगतिबारे जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले फागुन २१ गते देशभर एकैचरणमा निर्वाचन हुने बताएकी हुन्। तोकिएको मितिमा निर्वाचन गरेर मतपरिणाम आए पनि आफ्नो जिम्मेवारी पुरा गरेर आफू घर फर्किने उनले बताइन्।
उनले फागुन २१ गते देशभरको मौसम राम्रो हुने विश्वास व्यक्त गरिन्। प्रधामन्त्री कार्कीले मतपत्र छपाइको काम हेर्दा निकै उत्साह लागेको बताइन्। निर्वाचनको सम्पूर्ण तयारी भइसकेको र अब जनताले छाप मात्रै लगाउन बाँकी रहेको उनको भनाइ छ।
त्यस्तै गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएको मितिमा हरहालतमा निर्वाचन हुने र सबै तयारी सकारात्मक ढंगले अघि बढेको बताए। निर्वाचनका लागि कुनै सुरक्षा चूनौति नरहेको उनले बताए।
त्यस्तै निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी निर्वाचनको तयारी तीव्र रुपमा भइरहेको र निर्वाचन आचारसंहिता उल्लंघनमा कडाई गरिएको जानकारी दिए। तोकिएको समयमा निर्वाचन गर्न सरकार संवेदनशील देखिएको र आयोग पनि निर्वाचन गर्न दृढ रहेको उनको भनाइ छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ। हालसम्म ६० निर्वाचन क्षेत्रका गरी ७२ लाख ६० हजार मतपत्र छपाइ सकिएको आयोगले जानकारी दिएको छ। त्यस्तै आयोगले समानुपातिकतर्फको मतपत्र ढुवानीका लागि तयारी अवस्थामा राखिएको समेत उल्लेख गरेको छ।



