कर्णालीका हिमाली जिल्लामा हेलिकप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पुर्‍याउन सुरु

हिमाल प्रेस १६ फागुन २०८२ २०:२८ | Saturday, February 28, 2026
30
SHARES
कर्णालीका हिमाली जिल्लामा हेलिकप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पुर्‍याउन सुरु

सुर्खेत– कर्णाली प्रदेशका हिमाली जिल्लाका २७ मतदान स्थलमा निर्वाचन सामग्री र कर्मचारी पुर्‍याउन सुरु गरिएको छ। नेपाली सेनाको हेलिकप्टरले शनिबारदेखि ढुवानीको काम थालेको हो।

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्ला र डोल्लाका चार स्थानीय तहका २७ मतदान स्थलमा जिल्ला प्रशासन कार्यालयको निर्णय र मागका आधारमा नेपाली सेनाले हेलिकप्टरबाट निर्वाचन सामग्री र कर्मचारी पुर्‍याएको छ। भौगोलिक रूपमा दुर्गम र यातायातको पहुँच नपुगेका मतदान स्थलमा नेपाली सेनाको हेलिकप्टरबाट कर्मचारी र निर्वाचनका सामग्री पर्‍याउन सुरु गरिएको हो।

डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा ६, छार्काताङसोङ गाउँपालिकामा ६ र शेफोक्सुण्डो गाउँपालिकाकामा ११ मतदान स्थल छन्। यस्तै हुम्लाको नाम्खा गाउँपालिकामा ४ मतदान स्थलमा हेलिकप्टर प्रयोग गर्ने निर्णय भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए।

नाम्खा गाउँपालिकाको हिमशिखर आधारभूत विद्यालय तिल, हिमाल आधारभूत विद्यालय चाला, भृकुटी आधारभूत विद्यालय जाङ र सुनखानी आधारभूत विद्यालय हल्जीमा रहेका मतदान स्थलमा हिउँ जमेकाले निर्वाचन सामग्री र कर्मचारी पुर्‍याउन समस्या छ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार पछिल्लो समयमा परेको हिउँले सडक अवरुद्ध भएका कारण हेलिकप्टरको प्रयोग गर्ने बाध्यता आएको हो।

यस्तै डोल्पाका उच्च हिमाली क्षेत्रमा रहेका स्थानीय तहमा पनि सेनाको हेलिकप्टरबाट सामग्री र कर्मचारी पुर्‍याउन सुरु भएको छ। डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले शनिबारदेखि सेनाको हेलिकप्टरबाट दुर्गममा रहेका निर्वाचन क्षेत्रमा सामान र कर्मचारी पठाइसकेको बताइन्। ‘जमेको हिउँ नपग्लिएका कारण निर्वाचन गराउने कर्मचारी पुर्‍याउन र ल्याउनका लागि हेलिकप्टर आवश्यक छ,’ उनले भनिन्, ‘यहाँका २३ वटै मतदान स्थलमा कर्मचारी खटाउने र सामग्री पठाउने काम सुरु भएको छ।’

छार्काताङसोङ गाउँपालिकाको ढाँडगाउँ, लुंगाबगर, छार्का, घेराङ, कागकोट, मुकोट, पुंगाबगर, मतदान स्थलमा जान समस्या छ। यस्तै डोल्पोबुद्ध गाउँपालिकाको धो, कलाङ, ताक्सी, तिन्जे, पोल्दै, सिमेन र शेफोक्सुन्डो गाउँपालिकाको भिजेर, सालदाङ, कोमास, निसाल, कराङ, धुङदार, फोतगाउँ कुगाउँ, साइजल, रिग्मो, पुग्मोका रहेका मतदान स्थलमा हेलिकप्टर प्रयोग हुने भएको छ।

प्रकाशित: १६ फागुन २०८२ २०:२८ | Saturday, February 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast