काठमाडौँ- जेनजी आन्दोलनले निम्त्याएको राजनीतिक उथलपुथलपछि आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनले पुराना दलको साख जोगाउने चुनौती र नयाँ शक्तिको अवसरलाई एउटै मैदानमा आमनेसामने गराएको छ। आफ्नो सुरक्षित गढ छाडेर जोखिमपूर्ण क्षेत्र रोजेका गगन थापादेखि आफ्नै किल्लामा बालेन शाहको चुनौती झेल्दै गरेका केपी शर्मा ओलीसम्मका लागि निर्वाचन सत्ताको यात्रा मात्र नभई राजनीतिक अस्तित्वको लडाइँसमेत बनेको देखिन्छ।
प्रतिनिधिसभा निर्वाचनमा होमिएका दल र दलका नेताकार्यकर्ता टोलटोलमा भोट माग्न व्यस्त छन्। कोही अनेक प्रकारका भाषण गर्दै मतदाता तान्ने प्रयत्नमा छन्। उम्मेदवारहरूको नाच्नेगाउने, किसानको खेतबारीमा पुग्ने, काम सघाउने जस्ता गतिविधिको कतै आलोचना र कतै प्रशंसा भइरहेको छ।
२०८४ सालमा हुनुपर्ने प्रतिनिधिसभा सदस्य निर्वााचन जेनजी आन्दोलनका कारण दुई वर्षअघि नै हुन लागेको हो। जेनजी आन्दोलनका कारण संसद् विघटन हुँदा २०७९ सालमा निर्वाचित सांसदहरू पाँचबर्से कार्यकाल पूरा नहुँदै बिदा भए। उनीहरूमध्ये केही मात्र फेरि जनताबाट अनुमोदन हुने प्रतिस्पर्धामा छन्। मिसन ०८४ भन्दै चुनावी तयारी गरिरहेका दलहरूका लागि दुई वर्षअघि नै चुनावमा जानु त्यति सहज थिएन। यद्यपि सबै दलहरू चुनावी प्रतिस्पर्धामा छन्।
यसपटकको चुनावमा पुराना राजनीतिक दल जेनजी आन्दोलनबाट गुमेको साख फर्काउने प्रयासमा छन् भने नयाँ दल चुनावबाटै सानदार मत ल्याउन सक्रिय भएका छन्। त्यसैले चुनावी मैदान नयाँविरुद्ध पुरानो (दल) जस्तो बनेको छ। यसले गर्दा पनि जनलहर कता पर्छ भन्ने अन्योलग्रस्त अवस्था छ।
कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई पुराना शक्तिमा चित्रित गरिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) जनादेश पार्टीसहितका पार्टीलाई नयाँ दलको ‘ट्याग’ भिराइएको छ।
यसपटकको चुनावमा ठूला दलका मुख्य नेताहरू नै चुनावको चुनौतीमा छन्। यसअघिका चुनावमा आफू सुरक्षित ‘ग्राउन्ड’मा बसेर पार्टीको प्रचारमा लाग्ने मुख्य नेता अहिले आफैँ असुरक्षित बनिरहेका हुन्।
गगन थापा : प्रधानमन्त्री बन्ने सपना पूरा गर्ला सर्लाही- ४ ले?
गगन थापा जेनजी आन्दोलनपछि कांग्रेसको विशेष महाधिवेशन गरेर सभापति बनेका हुन्। कांग्रेसलाई पुस्तान्तरणको बाटोमा हिँडाएका थापा प्रतिनिधिसभा सदस्यमा सर्लाही निर्वाचन क्षेत्र ४ बाट प्रतिस्पर्धामा छन्। उनी विशेष महाधिवेशनबाटै ‘भाबी प्रधानमन्त्रीको उम्मेदवार’का रूपमा अघि बढेका छन्। कांग्रेसले निर्णय गर्दै थापालाई भाबी प्रधानमन्त्रीको उम्मेदवार दाबी गरेको छ।
प्रधानमन्त्रीको उम्मेदवार बनेका थापालाई चुनाव जित्न भने सजिलो नभएको सर्लाही-४ को राजनीतिका जानकारहरूको दाबी छ। थापाले चुनाव जित्ने रणनीतिका साथ यसपल्ट नयाँ क्षेत्रबाट प्रतिनिधित्व गर्न लागेका हुन्। उनले विगतका तीन निर्वाचन काठमाडौँ ४ बाट जितेका थिए। प्रधानमन्त्री बन्ने धोको बोकेर मधेश झरेका थापासँग पूर्वकांग्रेस नेता अमरेशकुमार सिंह मैदानमा छन्।
सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उठेका हुन्। सिंहले गएको निर्वाचनमा स्वतन्त्र हैसियतमा उठेर जितेका थिए। ‘हामीसँग संगठन छ र सोही क्षेत्र हाम्रो प्रभाव क्षेत्र हो। त्यसैले जितिन्छ,’ कांग्रेस प्रवक्ता देवेन्द्रराज चालिसे भन्छन्। सर्लाही ४ मा धनकौल, रामनगर, बलरा, गोडैटा गाउँपालिकाका सबै भाग पर्छन्। यसैगरी विष्णु गाउँपालिकाको १ देखि ४ नम्बर वडा, बरहथवाको १, २, ३, ४, १३, १४, १५ अनि बसबरियाको १, २ र ३ पनि सर्लाही-४ मा पर्छ।
एक लाख २१ हजार मतदाता रहेको यस क्षेत्रमा अघिल्लो पटक ६४ प्रतिशत भोट खसेको थियो। त्यहाँ अघिल्लो पटक अमरेशकुमार सिंहले करिब २० हजार मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका नागेन्द्रकुमारले १८ हजार भोट पाएका थिए।
स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले करिब साढे १४ हजार भोट ल्याएकी थिइन्, जो पूर्वसभासद शिवपुजन यादवकी छोरी हुन्। जसपाका राकेशकुमार मिश्रले करिब ६ हजार र बहुजन एकता पार्टीका राजाराम पासवानले करिब पाँच हजार मत पाएका थिए।
अघिल्लो पटकको समानुपातिक प्रणालीको अवस्था हेर्ने हो भने सर्लाही-४ मा कांग्रेसले सबैभन्दा बढी १६ हजार मत ल्याएको थियो। त्यसपछि जनमत पार्टीले साढे १२ हजार मत पाएर दोस्रो भएको थियो। यहाँ माओवादी र एमालेले करिब-करिब साढे ९ हजार सेरोफेरोमा मत पाएका थिए। त्यहाँ अघिल्लो पटक समानुपातिकमा रास्वपाले १२ सय भोट मात्रै पाएको थियो। प्रधानमन्त्रीको उम्मेदवार भएकाले थापाले मात्र चुनाव जितेर हुन्न, पार्टीले समेत सम्मानित मत ल्याउनुपर्ने हुन्छ।
थापाले एकातिर देउवा र देउवा निकटस्थलाई विस्थापित गरेको आरोप भोग्नुपरेको छ भने अर्कातिर उनलाई नयाँ भनिएका दलहरूको चुनौती चिर्न सजिलो छैन। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य यसपटक थापामाथि कांग्रेसको साख बचाउनुपर्ने चुनौती रहेको बताउँछन्।
‘पहिलेको भन्दा माहोल बिग्रेको देखिन्छ। यो बेला देउवाको भन्दा कम मत ल्याएमा के हुन्छ?’, आचार्यको प्रश्न छ। चुनाव भन्दा केही दिनअघि मात्रै सभापति चुनिएका थापाले देउवा खेमाका बहुसंख्यक नेतालाई टिकटबाटै वञ्चित गरिदिए। विगतमा लगातार जित्दै आएका नेतालाई टिकट नदिँदा ‘अन्तर्घात’ हुने अनुमान गर्छन् आचार्य।
यसैले पनि थापाले कांग्रेसलाई पहिलो शक्ति बनाउन चुनौतीसहित मैदानमा उत्रिएको आचार्यको विश्लेषण छ। हुन त कांग्रेसले आफू नयाँ शक्ति भएको दाबी गरिरहेको छ। कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा ४८ वर्षीय थापाको नेतृत्वमा कांग्रेस जानु स्वाभाविक रूपमा पार्टी नयाँ भएको बताउँछन्।
कठिन घडीमा ओली
आगामी निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट प्रतिस्पर्धामा छन्। एकै चुनाव क्षेत्रबाट चुनाव लडेर चार पटक प्रधानमन्त्री र सातौँ पटक सांसद बनेका ओलीका लागि झापा ५ नयाँ ठाउँ होइन। तर यसपालिको प्रतिस्पर्धा नयाँ ढंगले अघि बढेको छ। २०६४ को चुनावबाहेक सधैँ ओलीले यस क्षेत्रमा दोस्रा भएका छैनन्।
यसपटक ओलीलाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ चुनौती दिएका छन्। झन्डै दुई तिहाइको सरकारको नेतृत्व गरेका ओली जेनजी आन्दोलनबाट विस्थापित बनेका थिए। भदौ २४ गते जेनजी आन्दोलन चर्किएका बेला ओलीले हेलिकोप्टर चढेर बालुवाटार छाडेका थिए।
ओली जेनजी आन्दोलनमा भएको क्षतिको दोष बालेनले लिनुपर्ने बताउँछन्। बालेनले पनि भदौ २३ को नरसंहारका नायक ओली भएको बताउँदै आएका छन्। उनीहरूबीचको मनमुटाव व्यक्तिगतरूपमै अघि बढेको छ। यही कारण पनि ओलीलाई चुनौती दिन बालेन झापा पुगेका छन्। अहिले पनि बालेनको क्रेज युवापंक्तिमा परेको छ। जसको असर ओलीलाई परिरहेको छ। अघिल्ला चुनावमा आक्कलझुक्कल मात्र निर्वाचन क्षेत्र पुग्ने ओली यसपटक एकै महिना चार पटक धाइसकेका छन्। अघिल्ला चुनावमा चुनावी सभामा मात्र भेटिने ओली यसपटक घरदैलो कार्यक्रममा व्यस्त छन्।
ओली यसपटक पहिले गर्न नसकेका र नगरेका कामको जबाफ दिनुपर्ने ठाउँमा पुगेका छन्। ‘बाहिर हावा चलेजस्तो समस्या भित्र छैन। हामी सुरक्षित छौँ’, पूर्वमन्त्री एवं ओलीका चुनावी क्षेत्रका कमान्डर देवेन्द्र दाहाल भन्छन्, ‘जनताले २१ गते फैसला गर्नेछन्। परिचालित शक्तिहरू अनुमोदित हुँदैनन् भन्ने अपेक्षा छ।’
२०७९ को संसदीय निर्वाचनमा झापा-५ बाट एमाले अध्यक्ष ओली ५२ हजार तीन सय १९ मतसहित निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका खगेन्द्रप्रसाद अधिकारीको २३ हजार सात सय ४३ मत पाएका थिए। रास्वपा उम्मेदवार सुरेशकुमार पोखरेलले ११ हजार सात सय ४८ मत ल्याएका थिए।
समानुपातिकतर्फ पहिलो भएको एमालेले ३५ हजार ८७२ मत ल्याएको थियो। रास्वपाको मत १८ हजार दुई सय ५ मत थियो।
रास्वपा दोस्रो हुँदा तेस्रो भएको कांग्रेसले १६ हजार आठ सय ५९ मत पाएको थियो। झापा ५ मा एक लाख ६३ हजार तीन सय ७९ मतदाता छन्। निर्वाचन आयोगका अनुसार उक्त क्षेत्रमा यसपटक करिब १० हजार मतदाता नयाँ छन्।
यस निर्वाचन क्षेत्रमा दमक र गौरादह नगरपालिका तथा कमल र गौरीगन्ज गाउँपालिका पर्दछन्। दमक नगरपालिकाका १० वटै वडाहरू यसै क्षेत्रमा पर्छन्। गौरीगन्जका चारवटा वडा (वडा नं. १, २, ३ र ४) मात्रै यस क्षेत्रमा पर्दछन्। गौरादह नगरपालिकाको वडा नम्बर ९ बाहेक बाँकी ८ वटा वडा झापा क्षेत्र नम्बर ५ मा समेटिएका छन्।
दमक नगरपालिकामा ६५ हजार नौ सय ९७ मतदाता छन्। गौरादह नगरपालिकाका ८ वटा वडाको मतसंख्या ४१ हजार चार सय ७५ छ। कमल गापामा ४० हजार सात सय ८६ मतदाता छन्।
दक्षिणी भेगमा रहेको गौरीगन्ज गाउँपालिकाका चारवटा वडाको मतदाता संख्या १५ हजार एक सय १९ छ।
ओली पनि भाबी प्रधानमन्त्रीका रूपमा उभ्याइएका नेता हुन्। एमालेले निर्णय नै गर्दै चुनावपछि एमालेले सरकारको नेतृत्व गर्दा ओलीलाई अघि सार्ने भएको छ। ओलीलाई पनि थापालाई जस्तै चुनौती छ। उनले मात्र चुनाव जितेर प्रधानमन्त्री बन्ने सम्भावना छैन। एमालेले निर्णायक मत ल्याउनुपर्नेछ।
जिल्ला चहारेको आरोप सहँदै भोट मागिरहेका प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच जिल्ला चहारेर रुकुम पूर्व पुगेका छन्। प्रचण्ड २०६४ सालमा काठमाडौँ-१० र रोल्पा-२ बाट चुनाव उठेका थिए। दुवै क्षेत्रबाट निर्वाचित प्रचण्डले रोल्पा छाडेका थिए।
२०७० मा प्रचण्ड काठमाडौँ-१० र सिराहा-५ बाट उम्मेदवार बनेका थिए। त्यति बेला सिराहाबाट मात्र चुनाव जितेका प्रचण्ड २०७४ मा भने चितवन-३ बाट निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा प्रचण्ड गोरखा-२ बाट निर्वाचित भए।
उनी अहिले रुकुम पूर्वका गाउँगाउँमा पुगेका छन्। मतदातासँग त्यस क्षेत्रको समस्याबारे चासो लिइरहेका देखिन्छन्। तर उनीमाथि निर्वाचित भएको क्षेत्र छाडेको आरोप त्यहाँ पनि लागेको छ। किनभने प्रचण्डले दोहो¥याएर कुनै क्षेत्रबाट पनि चुनाव लडेका छैनन्।
रुकुम पूर्वबाट नेकपा एमालेका लीलामणि गौतम, नेपाली कांग्रेसकी कुसुमदेवी थापा र रास्वपाका लखनकुमार थापा प्रतिस्पर्धामा छन्। रुकुम पूर्वमा ३४ हजार सात सय ७२ मतदाता छन्। २०७९ को निर्वाचनमा रुकुम पूर्वबाट नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर १२ हजार दुई सय ६२ मत प्राप्त गरी निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्लले पाँच हजार दुई सय २१ मत प्राप्त गरेका थिए। अघिल्लो चुनावमा माओवादी उम्मेदवारलाई कांग्रेसको साथ थियो। यसपटक कुनै दलबीच पनि गठबन्धन छैन। यसैगरी प्रचण्डले जिल्ला चहारेको आरोप स्थानीय बासिन्दाको छ।
भिन्नै छ रविको सकस
२०७९ मा वैकल्पिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा चौथो ठूलो दल थियो। सभापति रवि लामिछाने चितवन-२ बाट अनुमोदित भएका थिए। ८३ हजार नौ सय ५६ जनाले मतदान गरेको त्यस क्षेत्रबाट लामिछानेले ४९ हजार दुई ६४ भोट प्राप्त गरेका थिए।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार नौ सय ८३ मत प्राप्त गरेका थिए। नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ६७ भोट पाए। यही मत ल्याएर लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्री बने। मन्त्री बनेकै बेला दोहोरो राहदानी मुद्दामा परेर उनको सांसद पद गुमेको थियो। नागरिकता प्रकरणबाट चोखिएपछि लामिछाने फेरि जनताबाट अनुमोदित भए। उपनिर्वाचनमा लामिछाने उक्त क्षेत्रबाट ५४ हजार एक सय ७६ मतसहित निर्वाचित भएका थिए।
लामिछाने उक्त क्षेत्रबाट तेस्रो पटक प्रतिस्पर्धामा छन्। वैकल्पिक शक्ति भन्दै रास्वपाको बजार बनाए पनि रविलाई निर्वाचित हुन सहज छैन। किनभने सहकारी ठगी प्रकरणमा मुछिएका कारण लामिछाने जेल सजायसमेत भोगेका छन्। सम्पत्ति शुद्धीकरणको मुद्दाका कारण चुनाव जिते पनि लामिछानेले सांसदको लोगो र शपथ लिन पाउँदैनन्। यही मुद्दा बनाएर कांग्रेस-एमालेले चितवन-२ मा मत मागिरहेका छन्। लामो समय कांंग्रेसबाट राजनीति गरेकी सादगी छविकी मीनाकुमारी खरेल उनीसँग प्रतिस्पर्धामा छन्।
पार्टीको पहिलो स्तरको नेता भए पनि उनी लामिछानेलाई प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारिएको छैन। अघिल्लो कार्यकालमा उपप्रधानमन्त्री बनेका उनी यसपटक प्रधानमन्त्रीका स्वाभाविक दाबेदार थिए। तर रास्वपाबाट प्रधानमन्त्रीका रूपमा बालेन अघि सारिएका छन्।
नेताहरूका अनुसार यसपटक रास्वपामा मत हाल्ने लहर चलेको छ। ‘चुपचाप, घण्टी छाप’ भन्दै उम्मेदवारहरू गाउँगाउँमा पुगेका छन्।
जोखिम र विरोधाभासमा लिङ्देन
अन्य नेताजस्तै चुनौतीमै चुनाव भिड्दै छन्, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजेन्द्र लिङ्देन। यसपटक राप्रपाले अघोषित रूपमा लिङ्देनलाई ‘भाबी प्रधानमन्त्री’ प्रस्ताव गर्दै चुनाव लड्दै छ। राप्रपा स्रोतका अनुसार राप्रपाले बहुमत ल्याए तिनै लिङ्देन प्रधानमन्त्री बन्नेछन्। तर यो यात्रा सहज भने छैन।
किनभने लिङ्देन आफैँ यसपटक चुनौतीभित्र खेलिरहेका छन्। उनी चुनाव लडेको झापा-३ राप्रपाका लागि ‘रेड जोन’ हो। विगतमा नेकपा एमालेसँगको सहकार्यमा दुईपटक चुनाव जितेका लिङ्देन यसपटक एक्लै भिड्दै छन्। उनीसँग राप्रपाबाहेकको साथ पनि छैन। २०७९ को निर्वाचनमा लिङ्देनले एमालेको सहयोगमा ४० हजार ६ सय ६२ मत ल्याएर निर्वाचित भएका थिए।
त्यति बेला कांग्रेसका कृष्ण सिटौलाले ३७ हजार तीन सय ८६ मत ल्याएका थिए। उक्त क्षेत्रमा यसपटक कांग्रेसबाट राजेन्द्रकुमार घिमिरे मैदानमा छन्।
रास्वपाका पुरानै उम्मेदवार प्रकाश पाठकले चुनौती दिइरहेका छन्। यसैले लिङ्देनको संसद् प्रवेश यात्रा सहज देखिँदैन। राप्रपा महामन्त्री राजेन्द्र गुरुङ भने यसपटक राप्रपा निर्णायक शक्ति बन्ने दाबी गर्छन्। ‘यसपटक अघिल्ला चुनावभन्दा राम्रो नतिजा आउनेछ। हामीलाई आशा छ, मुख्य शक्ति बन्छौँ’, गुरुङ भन्छन्। २०७९ को निर्वाचनमा राप्रपाले प्रत्यक्षमा सात र समानुपातिकमा सात गरी १४ सिट जितेको थियो।






