फाइल तस्बिर
काठमाडौँ– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग क्षेत्रीय तनाव न्यूनीकरणबारे छलफल गरेका छन्।
थानीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग टेलिफोन वार्ता गरेको अमिरकोकार्यालयले बुधबार जनाएको हो।
अर्को एक विज्ञप्तिमा जनाइएअनुसार उनले राष्ट्रपति ट्रम्पसँगको वार्तापछि इरानका उच्च सुरक्षा अधिकारीसँग भेटवार्ता गरेका थिए।
अमेरिकी राष्ट्रपति शेख तमिम बिन हमाद अल थानी र ट्रम्पले यस क्षेत्रको वर्तमान अवस्था र तनाव न्यूनीकरण तथा क्षेत्रीय सुरक्षा तथा शान्तिलाई सुदृढ पार्ने अन्तर्राष्ट्रिय प्रयासमा ध्यान केन्द्रित गरेका छन्।
नेताहरुबीच ‘वार्ता र शान्तिपूर्ण माध्यमबाट संकटको समाधान गर्ने कूटनीतिक प्रयासलाई सहयोग गर्ने’ विषयमा पनि छलफल भएको बताइएको छ।
शेख तमिमले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारीजानीसँग दोहामा भेटवार्ता गरेको अमिरको कार्यालयले जनाएको छ।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसमेत सहभागी भएको अमिरसँगको भेटवार्ताबारे जानकारीका लागि जारी विज्ञप्तिमा भनिएको छ, ‘नेताहरूसँगको भेटमा क्षेत्रीय विकास, तनाव कम गर्न र क्षेत्रीय सुरक्षा बढाउनका लागि गरिएका प्रयासहरूबारे छलफल भएको छ।’
तेहरानले प्रदर्शनकारीमाथि गरेको घातक दमनपछि अमेरिकी नौसैनिक समूह मध्यपूर्वी जलक्षेत्रमा सरेको छ।–रासस/एएफपी



