काठमाडौँ- यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि खटाइने मतदान केन्द्रका कर्मचारीको व्यवस्थापनमा शिक्षकमाथि विभेद र अपमान गरिएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनले आपत्ति जनाएको छ।
संगठनका अध्यक्ष हंसबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा निर्वाचन कार्यालयले देशभरका शिक्षक तथा कर्मचारीहरूलाई खटाउने क्रममा राष्ट्रसेवकबीच भेदभाव गरेको र समान तह तथा श्रेणीका शिक्षकलाई कनिष्ठ (तल्लो) जिम्मेवारी सुम्पिएको उल्लेख गरिएको छ।
संगठनले यस प्रकारको कार्यलाई अनुभवी, दक्ष र योग्य शिक्षकको मानमर्दन र अपमानजनक कदमका रूपमा व्याख्या गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘राज्यका अन्य अंगका कर्मचारी सरहकै योग्यता र श्रेणी भएका शिक्षकलाई जिम्मेवारी बाँडफाँटमा पछाडि पारिनु न्यायसंगत छैन।’
संगठनले यो विभेदपूर्ण निर्णयलाई तत्काल सच्याउन सम्बन्धित निकायसँग माग गरेको छ। यदि निर्वाचन कार्यालय र सम्बन्धित निकायले शिक्षकको आत्मसम्मानमा ठेस पुग्ने गरी लादिएको यस्तो जिम्मेवारीमा शीघ्र सुधार नगरेमा देशभरका शिक्षकले उक्त कार्यभार स्वीकार नगर्ने चेतावनी समेत विज्ञप्ति मार्फत दिइएको छ।
शिक्षकको मर्यादा र पेसागत गरिमाको रक्षाका लागि संगठन सधैँ दृढ रहने प्रतिबद्धता समेत अध्यक्ष शाहीले गरेका छन्।





