काठमाडौँ- डिजिटल प्रविधिको तीव्र विकाससँगै बैंकिङ कारोबार अनलाइन माध्यमबाट बढ्दै गइरहेका बेला सम्भावित ठगी र साइबर अपराधका जोखिमबारे बच्न पिपल्स क्याम्पसले डिजिटल बैंकिङसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा आर्थिक पत्रकार चिरञ्जीवी भट्टराईले डिजिटल बैंकिङका विभिन्न माध्यम, अनलाइन भुक्तानी प्रणाली, मोबाइल बैंकिङ, क्यूआर कोड प्रयोग लगायतका विषयमा प्रस्तुति दिएका थिए। उनले असावधानीका कारण हुनसक्ने साइबर ठगी, फिसिङ, ओटीपी दुरुपयोगजस्ता जोखिमबारे जानकारी दिँदै सुरक्षित कारोबारका उपायहरूबारे प्रकाश पारे।
क्याम्पस प्रमुख मनोजबहादुर कुवँरले डिजिटल बैंकिङ कारोबारको विस्तारसँगै ठगीका घटना पनि बढ्दै गएको बताए। उनले सजग र सावधानीपूर्वक कारोबार गर्न विद्यार्थी तथा सेवाग्राहीलाई आग्रह गरे। कुँवरले यस्ता किसिमका सचेतनामूलक कार्यक्रमले विद्यार्थीलाई जोखिमबारे सचेत गराउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख रोजेश पण्डितले डिजिटल ठगीका घटना बढ्दै गएका सन्दर्भमा यस्ता कार्यक्रमको सान्दर्भिकता अझ बढेको बताए। उनले विद्यार्थीलाई डिजिटल साक्षरता अभिवृद्धि गर्दै सुरक्षित बैंकिङ अभ्यास अपनाउन आग्रह गरे।





