जनकपुरधाम- विगतमा भौतिक पूर्वाधार विकासका दृष्टिकोणले धनुषाकै दुर्गम ठानिएको निर्वाचन क्षेत्र नम्बर १ सदरमुकाम जनकपुरधामबाट पुग्न यतिबेला धेरै समय लाग्दैन।
अहिले कायम रहेको धनुषा निर्वाचन क्षेत्र नम्बर १ सुलभताका हिसाबले कुनै बेला पिछडिएको क्षेत्रका रूपमा परिचित थियो। हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने सडक अहिले पक्की छन्। गाउँघरका भित्री सडक ढलान भएका छन्। ठूला तथा सवारीसाधन दिनभर हुइँकिरहन्छन्। ठाउँठाउँमा पसल खुलेका छन् भने बिजुलीबत्ती र सिँचाइ पनि पुगिसकेका छन्।
सदरमुकाम जनकपुरधामको पूर्वमा अवस्थित धनुषा क्षेत्र नम्बर १ ले पूर्वपश्चिम राजमार्ग उत्तरतर्फ उदयपुर, सिन्धुली र सिरहाको सीमालाई छोएको छ। राजमार्गको गोदारबाट उत्तरतर्फ रहेको यस क्षेत्रको चिसापानी भन्ने ठाउँसम्म पुगेर एक दिनमै फर्किन अहिले पनि कठिन छ।
विभिन्न पालिकाका गरी ४५ वडा सामेल यस निर्वाचन क्षेत्रमा पनि यतिबेला अन्य ठाउँजस्तै चुनावी सरगर्मी बढेको छ। सर्वसाधारण भेला हुने सबैजसो चोक, चियापसललगायतका स्थानमा चुनावकै चर्चा छ। सबैले चुनावपछि आउने परिणामबारे आफ्ना तर्कहरू प्रस्तुत गरिरहेका हुन्छन्।
मुख्यतः नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रको मिश्रित गढको रूपमा चिनिएको धनुषा-१ मा यसपटक चौपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। यस क्षेत्रमा कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का साथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको हो।
धनुषा-१ मा कांग्रेसले केन्द्रीय सदस्य रामपल्टन साहलाई उम्मेदवार बनाएको छ। चार दशकदेखि कांग्रेसमा बसेर राजनीति गरिरहेका रामपल्टन पहिलोपटक चुनाव लडेका हुन्। निवर्तमान सभापति शेरबहादुर देउवानिकट नेता आनन्दप्रसाद ढुंगानाको प्रभाव रहेको यस क्षेत्रबाट यसअघि प्रयास गरे पनि रामपल्टनले चुनाव लड्ने मौका पाएनन्।
गत पुसमा भएको पार्टीको विशेष महाधिवेशनमा सक्रिय भएर लागेका उनले पहिलोपटक चुनावको टिकट पाएका हुन्। कांग्रेसका दिवंगत नेता प्रदीप गिरीको अनुयायी रहेका रामपल्टन मतदाताहरू आफ्नो उम्मेदवारीबाट उत्साहित रहेको दाबी गर्छन्।
यस क्षेत्रका कांग्रेसी मतदाताहरू रूख चुनाव चिह्नमा मतदान गर्ने अवसर पाउँदा उत्साहित देखिएको आफूले पाएको उनको भनाइ छ।
‘कांग्रेसले यस क्षेत्रमा आफ्नो उम्मेदवार खडा गर्ने मौका पाएको छ,’ रामपल्टन भन्छन्, ‘कहिले गठबन्धनका कारण अघिल्लो निर्वाचनमा कांग्रेसले यस क्षेत्रमा उम्मेदवार नै दिएन। योपालि कांग्रेसका मतदाताले रूख चिह्नमा मत हाल्न पाउने भएर उत्साहित भएको मैले पाएको छु।’
कांग्रेस परिवर्तन भएर आएका कारण तटस्थ मतदाताहरूले पनि आफूलाई मत दिने उनले बताए। उनी भन्छन्, ‘नयाँ भन्नेहरू सिंहदरबार र सर्वोच्च जलाएर आएका छन्। उनीहरूलाई मतदाताले पत्याउनेवाला छैन। नयाँ भनेको त हामी हो, फेरिएर आएका छौँ।’
रामपल्टनले यसो भनिरहे पनि उनका लागि कांग्रेसको आन्तरिक एकता कायम राख्नु चुनौतीपूर्ण हुन सक्ने देखिएको छ। विशेष महाधिवेशनमा सक्रिय रहेका रामपल्टन र विरोधमा रहेका नेता आनन्द ढुंगानाबीच सौहार्दपूूर्ण सम्बन्ध भएमात्र कांग्रेस एकजुट रहने प्रस्ट छ।
धनुषा-१ का कांग्रेस नेताहरू भने यसपालिको निर्वाचनमा अन्तर्घात हुने सम्भावना नरहेको दाबी गर्छन। यही निर्वाचन क्षेत्रमा पर्ने धनुषाधाम नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ऋषि लामा कांग्रेस एकजुट रहेको बताउँछन्।
‘आनन्द दाइले खुलेरै सहयोग गरिरहनुभएको छ। उहाँ आफैँ खटिनुभएको छ,’ कांग्रेसबाट निर्वाचित वडाध्यक्ष लामाले भने, ‘यसपालि कुनै किसिमको अन्तर्घात हुँदैन, हामी एकजुट छौँ, कांग्रेसले चुनाव जित्छ।’
कांग्रेसले यस क्षेत्रमा अन्तिमपटक २०७४ सालमा चुनाव लडेको थियो। त्यो निर्वाचनमा चुनाव लडेका कांग्रेस नेता आनन्दप्रसाद ढुंगाना तेस्रोमा सीमित भएका थिए। उनी १५ हजार ६ सय ७९ मत ल्याएर तेस्रो स्थानमा सीमित हुँदा तत्कालीन नेकपा (माओवादी केन्द्र) का नेता मातृकाप्रसाद यादव २६ हजार ४१८ मत ल्याएर निर्वाचित भएका थिए।
त्यो निर्वाचनमा मातृका माओवादी-एमालेसहितको वामगठबन्धनबाट चुनाव लडेका थिए। त्यस्तै तत्कालीन संघीय समाजवादी फोरम नेपालका दीपक कार्की १७ हजार दुई सय ९६ मत ल्याएर दोस्रो र पञ्चायतकालका ‘हेभिवेट’ दिवंगत नेता मनोज मल्ल ठकुरीले तीन हजार चार सय ९२ मत प्राप्त गरेका थिए।
२०७९ को चुनावमा कांग्रेस र एमाले दुवैले यस क्षेत्रमा आफ्नो उम्मेदवार खडा गरेका थिएनन्। कांग्रेस-माओवादी गठबन्धनबाट मातृका र एमाले-जसपा नेपाल गठबन्धनबाट दीपक कार्की मैदानमा थिए।
एमालेसँग गठबन्धन गरेका जसपा नेपालका कार्की २७ हजार चार सय ३१ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा २१ हजाार चार सय ८३ मतसहित मातृका दोस्रोमा सीमित भए।
एमाले छोडेर जनमत पार्टी प्रवेश गरेका किशोरी साह कमल १४ हजार चार सय ६७ मत ल्याएर तेस्रो र राप्रपाका मनोज मल्ल ठकुरी आठ हजार दुई सय ७३ मतसहित तेस्रो भए। निर्वाचनमा गठबन्धन गरेर पनि कांग्रेसले ‘धोका’ दिँदा मातृकाले हार बेहोर्नुपरेको आरोप लाग्ने गरेको छ। कांग्रेसका मतदाताहरूले मत ‘डाइभर्ट’ गरिदिँदा मातृका हारेर कार्कीले जित निकालेको आरोप छ।
धनुषा-१ मा अघिल्लोपटक जस्तो मधेश केन्द्रित दलहरू जसपा नेपाल र जनमत पार्टी चर्चामा देखिएका छैनन्। कांग्रेसलाई छोडिदिने हो भने तिनै पुराना उम्मेदवारहरू चुनावी मैदानमा होमिएका छन्।
नेकपाका मातृका र जसपा नेपालका कार्की दोस्रो जित निकाल्न प्रयासरत छन् भने कांग्रेसका रामपल्टन र यसपालि जनमत छोडेर रास्वपा प्रवेश गरेका किशोरी पहिलो जितको खोजीमा देखिन्छन्। त्यस्तै एमालेले यो क्षेत्रमा मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख रामचन्द्र मण्डललाई उम्मेदवार बनाएको छ।
‘आचरणविपरीत काम’ गरेको प्रस्ताव लागेर सभामुखबाट हटाइएका रामचन्द्र प्रदेश सांसदबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका छन्। उनी यो क्षेत्रबाट दुईपटक प्रदेश सांसदमा निर्वाचित भएका हुन्।
नेकपा उम्मेदावर मातृकाले प्रतिस्पर्धामा उत्रिएकामध्ये सबैभन्दा सक्षम र अनुभवी उम्मेदवार आफू रहेको बताए। उनले भने, ‘विगतमा पनि जितेर मैले यस क्षेत्रका लागि धेरै काम गरिसकेको छु। यहाँ सबै उम्मेदवारहरूभन्दा अनुभव मसँग छ। त्यसैले मतदाताले मलाई जिताउनुहुनेछ भन्नेमा म ढुक्क छु।’
मातृकाले आफूभन्दा अनुभवी र योग्य उम्मेदवार अरू कोही भए मतदातालाई मत दिन आग्रह गरे। ‘मभन्दा अरू कोही अनुभवी हुनुहुन्छ भने मत दिन मेरो आग्रह छ, मलाई केही भन्नु छैन। मेरो यो अन्तिम चुनाव हो यसपछि लड्ने पनि होइन।’
एमाले र जनमत हुँदै यसपालि रास्वपा छिरेका किशोरी भने देशभर परिवर्तनको लहर चलेका कारण मतदाताले आफूलाई विश्वास गर्ने दाबी गर्छन्। २०७४ सालमा एमालेका तर्फबाट प्रदेशसभा सदस्य बनेका उनले पुराना दलहरूले केही गर्न नसकेका कारण मतदाताको रोजाइमा आफू रहेको जिकिर गरे।
प्रचारप्रसार तीव्र बनाएका रास्वपा उम्मेदवार किशोरी भने कालोसूचीमा परेका व्यक्ति हुन्। पेसाले निर्माण व्यवसायी रहेका उनी कर्जा सूचना केन्द्रको चेक बाउन्स र निर्माण सेवाको कालोसूचीमा रहेको तथ्य बाहिरिएको हो।
कर्जा सूचना केन्द्रको अद्यावधिक विवरणअनुसार कमल निर्माण सेवा प्रालिका सेयरधारक रहेका किशोरी २०८० वैशाखदेखि कालोसूचीमा देखिएका छन्। उनको नाम एकल र संयुक्त रूपमा समेत चेक बाउन्सम्बन्धी कालोसूचीमा परेको पाइएको छ।
कर्जा सूचना केन्द्रको फागुन ५ गतेसम्मको अद्यावधिक विवरण र कालोसूचीको नामसूचीअनुसार कमला निर्माण सेवा प्रालिका सेयर होल्डर किशोरीको नाम चार ठाउँमा रहेको छ। सूचीमा उनकी श्रीमती अञ्जिला साह र किशोरीको संयुक्त नाम छ।
रास्वपा उम्मेदवार किशोरी भने आफूमाथि लगाइएका अरोपहरू निराधार रहेको दाबी गर्छन्। आफ्ना प्रतिस्पर्धी उम्मेदवारहरूले कुनै मुद्दा नपाएपछि यसखाले आरोप लगाएको उनको भनाइ छ।
कसले मार्ला बाजी?
प्रभावका हिसाबले धनुषा-१ मा कांग्रेस र माओवादी केन्द्रको बलियो पकड रहेको पाइन्छ। २०६४ यता भएका चारवटा संसदीय निर्वाचनमा यस क्षेत्रमा दुईपटक माओवादी केन्द्र, एकपटक कांग्रेस र एकपटक जसपा नेपालका उम्मेदवार निर्वाचित भएका छन्।
माओवादी र कांग्रेसले एकल चुनाव लडेर जित्दा जसपा नेपालले भने एमालेको सहकार्यमा चुनाव जितेको हो। यद्यपि २०७४ सालको निर्वाचनमा एमाले र तत्कालीन माओवादीबीच सहकार्य भएको थियो।
२०६४ सालमा माओवादीबाट सहिद रामवृक्ष यादवकी पत्नी रामकुमारी यादव र २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका प्रेमकुमार साह निर्वाचित भएका थिए। यस क्षेत्रमा एमालेले पहिलोपटक आफ्नो उम्मेदवार खडा गरेको छ।
त्यस्तै यहाँका मतदाता रास्वपाको पक्षमा पनि देखिएका छन्। उम्मेदवार नै कालोसूचीमा रहेको तथ्य बाहिरिएपछि रास्वपालाई धक्का लाग्नसक्ने अनुमान गरिएको छ। मतदाताहरू पनि बाँडिएको पाइन्छ। कतिपय मतदाता परिवर्तन भन्दै रास्वपाको पक्षमा देखिन्छन् भने पारम्परिक दलका मतदाता पनि उल्लेख्य छन्।
आफ्नो समर्थन दिएर अन्य दलका उम्मेदवारलाई निर्वाचित गराउन सहयोग गर्दै आएको एमालेले पनि यस क्षेत्रमा मत पाउने देखिन्छ। अर्कोतर्फ राप्रपाबाट चुनाव लडेका ‘शेरे धनुषा’ भनिएर चिनिने पञ्चायतकालका दिवंगत नेता हेमबहादुर मल्लका छोरा मनोजले पनि पारम्परिक मत पाउने निश्चित छ।
मतका हिसाबले मिश्रित रहेको यस क्षेत्रमा उम्मेदवारको व्यक्तिगत छवि निर्णायक हुने मतदाताहरू बताउँछन्। रास्वपालगायतका दलहरूको चर्चा सुनिए पनि जातीय राजनीतिका साथै उम्मेदवारको व्यक्ति छविले काम गर्ने यो क्षेत्रस्थित पर्वत्ताका एक मतदाताले बताए।






