काठमाडौँ- मिस हङकङ नेपाल २०२६ को उपाधि दीपमाला खरेल ढकाललाई प्रदान गरिएको छ। हङकङको इटन होटलमा बिहीबार आयोजित ‘ग्रान्ड कोरोनेसन’ समारोहमा उनलाई ताज पहिराइएको हो।
मिस नेपाल हङकङको ताज मिस नेपाल वर्ल्ड २०२४ की विजेता आश्मा कुमारी केसीले पहिराइ दिएकी थिइन्।
मिस नेपाल हङकङ दीपमालाले अब २०२६ मा आयोजना हुने मिस नेपाल प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछिन्।
उनी मिस नेपाल हङकङ भएपछि हिमाल प्रेससँग कुरा गर्दै भनिन, ‘म निकै खुसी छु। साथै ठूलो जिम्मेवारी र चुनौती थपिएको महसुस गरेकी छु। हिजोसम्म म परिवारको कान्छी छोरी थिए। अब पुरै हङकङकी छोरी भएर नेपाल आउनेछु र प्रतिस्पर्धा गरेर हङकङ बासी नेपालीको शिर थप उँचो गर्नेछु। मिस नेपाल ताज र सामाजिक कार्य नै मेरो अबको लक्ष्य हो।’
यसपटक दीपमाला सिधैँ मिस हङकङ एपोइन्ट भएकी हुन्। आयोजकका अनुसार प्रतियोगिताको गरिमा, विश्वसनीयता र निष्पक्षतालाई प्राथमिकताका साथ हङकङबासीहरुले उक्त निर्णय गरेको हो।
उपाधि पाएपछि उनले भनिन् ‘हङकङलाई विश्वसामु चिनाउन प्रयास गर्नेछु। मलाई खुसीसँगै अधिक जिम्मेवारको अनुभूति भएको छ।’

दीपमाला विश्वकै ठूला लगानी कम्पनीमध्ये एक ब्ल्याक रकमा लगानी रणनीतिकारका रूपमा कार्यरत छिन्। हङकङमै जन्मेर हुर्किएकी उनले त्यहीँ आफ्नो अध्ययन पूरा गरेकी हुन्।
व्यावसायिकसँगै दीपमाला बहुआयामिक व्यक्तित्वकी धनी छिन्। उनी हङकङ म्याराथनमा सहभागी धावक, तेक्वान्दो खेलाडी तथा कुशल कार्यक्रम प्रस्तोता टेड स्पिकर, रन वे मोडलिङ, हङकङ टोस्टमास्टर समेत हुन्।
शिक्षा, खेलकुद, कला र व्यवस्थापन क्षमताको सन्तुलित संयोजन नै उनलाई अरू प्रतिस्पर्धीभन्दा फरक बनाउने मुख्य आधार बनेको हो।
कार्यक्रममा द हिडन ट्रेजरका अध्यक्ष अजयरत्न स्थापितले भने भिडियो कन्फरेन्समार्फत सम्बोधन गरेका थिए। मिस हङकङ नेपाल २०२६ हिडन ट्रेजरले एपोन्ट गरेको हो।



