काठमाडौँ। नेपाल पञ्चांग निर्णायक विकास समितिले २०८३ को पात्रो सार्वजनिक गरेको छ। समितिले विभिन्न तिथिमिति पनि सार्वजनिक गरेको हो। भदौ १ गते सोमबार नागपञ्चमी परेको छ भने भदौ १२ गते शुक्रबार रक्षाबन्धन, ऋषितर्पणी पूर्णिमा वा जनैपूर्णिमा मनाइन्छ ।
त्यस्तै भदौ १३ गते शनिवार गाईजात्रा, १९ गते शुक्रबार श्रीकृष्ण जन्माष्टमी व्रत, जसलाई मोहरात्री पनि भनिन्छ । भदौ २६ गते शुक्रबार कुशे औँसी परेको छ, जुन दिन हामी बुवाको मुख हेर्ने दिनको रूपमा मनाउँछौँ । २७ गते शनिवार गुँला धर्म समाप्ति हुनेछ । भदौ २८ गते दर खाने दिन परेको छ । २९ गते सोमबार हरितालिका तीज व्रत परेको छ । भदौ ३० गते मंगलबार ऋषिपञ्चमी व्रत रहेको छ ।
असोज १ गते विश्वकर्मा पूजा, ९ गते शुक्रबार चतुर्दशी व्रत तथा कुमारी इन्द्रजात्रा परेको छ । असोज ११ गते आइतबारबाट सोह्रश्राद्ध सुरु भई असोज २४ गते शनिवार औँसी श्राद्ध गरिसकेपछि पितृ विसर्जन गरिनेछ। सोह्रश्राद्धमा दिवंगत भएका पितृहरूको सम्झनास्वरूप उनीहरूको भक्तिभावका साथ श्राद्ध गरिनेछ।
असोज २५ गते आइतबारबाट विधिवत् रूपमा दसैँ सुरु हुनेछ । २५ गते घटस्थापना स्थापना गरिन्छ भने यही दिनबाट नवरात्र आरम्भ हुनेछ । असोज ३१ गते शनिवार फूलपाती पर्व मनाइन्छ । कार्तिक १ गते आइतबार महाअष्टमी पर्व मनाइन्छ । यस दिनलाई भौमाष्टमी, गोरखकाली पूजा तथा कालरात्रि पनि भनिन्छ । ३ गते मंगलबार महानवमी र ४ गते बुधबार विजयादशमी अर्थात् मान्यजनबाट दशैंको टीका लगाइसकेपछि देवी विसर्जन गरिन्छ । ८ गते पूर्णिमा व्रत वा कोजाग्रत व्रत मनाएसँगै विधिवत् रूपमा दसैँ सकिनेछ । कार्तिक ९ गते कार्तिक स्नान, आकाशदीपदान आरम्भ हुनेछ ।
कार्तिक २० गते शुक्रबारबाट विधिवत् रूपमा तिहार सुरु हुनेछ । २० गते प्रदोष व्रत, धन्तेरस, धनत्रयोदशी, यमदीपदान मनाइन्छ । २१ गते शनिवार काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइन्छ । २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मी पूजा मनाइन्छ र यही दिनलाई सुखरात्री पनि भनिन्छ । २३ गते सोमबार गाई पूजा गरिन्छ । २४ गते मंगलबार गोवर्धन पूजा, म्ह पूजा मनाइन्छ र यही दिन नेपाल संवत् ११४७ आरम्भ हुनेछ । २५ गते बुधबार यमद्वितीया अर्थात् भाइटीका लगाइन्छ ।




