नेकपा (माओवादी) ले सार्वजनिक गर्‍यो चुनावी प्रतिबद्धता (पूर्णपाठसहित)

हिमाल प्रेस १८ माघ २०८२ १६:०९
10
SHARES
नेकपा (माओवादी) ले सार्वजनिक गर्‍यो चुनावी प्रतिबद्धता (पूर्णपाठसहित)

काठमाडौँ- पहिलोपटक संसदीय निर्वाचनमा सहभागी हुन लागेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।

‘स्वाधीनता, आत्मनिर्भरता र समानताका लागि हाम्रो नीति, हाम्रो उम्मेदवार’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा राज्य पुनरसंरचना, समाजवादी संघीयता, सुशासन, आत्मनिर्भर अर्थतन्त्र र जनपक्षीय नीति मुख्य प्राथमिकतामा राखिएको छ।

पार्टी अध्यक्ष विप्लव सीको नाममा जारी प्रतिबद्धतापत्रमा देशमा भ्रष्टाचार, कमिसनखोरी, तस्करी र राष्ट्रघाती प्रवृत्तिको अन्त्य गर्दै स्थिर सरकार, जनउत्तरदायी संसद् र सुशासन स्थापित गर्ने दाबी गरिएको छ।

माओवादीले संविधान पुनर्लेखन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागु गर्ने तथा विज्ञहरू सम्मिलित मन्त्रिपरिषद् गठन गर्ने प्रस्ताव अघि सारेको छ।

प्रतिबद्धतापत्रमा संघीयतालाई उत्पीडित जाति र क्षेत्रको पहिचान तथा अग्राधिकारसहितको समाजवादी संघीयताका रूपमा कार्यान्वयन गर्ने उल्लेख छ।

न्यायपालिकालाई निष्पक्ष, पारदर्शी र जनउत्तरदायी बनाइने तथा न्यायाधीश नियुक्तिमा दलीय भागबन्डाको अन्त्य गरी जनपरीक्षणपछि मात्र नियुक्ति गर्ने नीति लिइने जनाइएको छ।

त्यस्तै, आर्थिक क्षेत्रमा ‘नयाँ आर्थिक मार्ग’ अवलम्बन गर्दै आत्मनिर्भर र निर्यातमुखी अर्थतन्त्र निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

कृषि, उद्योग, पर्यटन र जलविद्युतलाई समृद्धिको आधार मानेर राज्य र निजी क्षेत्रको साझेदारीमा विकास गरिने उल्लेख छ।

कृषिको आधुनिकीकरण, उद्योग विस्तार, रोजगारी सिर्जना र ‘एक युवा एक सीप’ कार्यक्रममार्फत बेरोजगारी अन्त्य गर्ने लक्ष्य लिइएको छ।

शिक्षा, स्वास्थ्य, विज्ञान तथा प्रविधिमा आम नागरिकको पहुँच सुनिश्चित गर्ने, गुणस्तरीय र रोजगारमूलक शिक्षा प्रणाली विकास गर्ने तथा स्वास्थ्य सेवामा सर्वसुलभता र गुणस्तर कायम गर्ने प्रतिबद्धता पनि पत्रमा समेटिएको छ।

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिँदै विगतका सबै भ्रष्टाचारको छानबिन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्ने उल्लेख छ।

परराष्ट्र नीतिमा असंलग्नता, सहअस्तित्व र छिमेकीसँग मित्रवत् सम्बन्धलाई प्राथमिकता दिने बताइएको छ। साथै, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामा हस्तक्षेप गर्ने भन्दै एमसीसी सम्झौता खारेज गर्न संघर्ष गर्ने प्रतिबद्धता पनि पत्रमा उल्लेख गरिएको छ।

माओवादीले श्रमिक, किसान, महिला, उत्पीडित समुदाय, भ्रष्टाचार, कालोबजारी र राष्ट्रघाती गतिविधिविरुद्ध संघर्षलाई निरन्तरता दिने जनाएको छ।

यस्तो छ पूर्णपाठ

प्रकाशित: १८ माघ २०८२ १६:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast