कांग्रेस महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा।
काठमाडौँ- नेपाली कांग्रेसले आज जनकपुरमा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको छ। नेपाली कांग्रेस मधेश प्रदेश समितिको आयोजनामा जनकपुरधाममा हुन लागेको प्रतिज्ञा सभामा प्रतिज्ञा पत्र सार्वजनिक गरिने भएको हो। प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
मधेशको पवित्र भूमिमा, ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने यो प्रतिज्ञा सभा केवल एक राजनीतिक कार्यक्रम मात्र नभई, मधेशको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरको रुपमा कांग्रेसले लिएको छ। मधेशको माटोले सधैं प्रजातन्त्र, समावेशिता र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएको कांग्रेसका नेताहरूले बताउने गरेका छन्।
मधेश आन्दोलनपछिको राजनीतिक यात्रामा नेपाली कांग्रेसले मधेशका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेण्डाका रूपमा आत्मसात गरेको नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवको भनाइ छ। यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति गगन कुमार थापा स्वयं मधेशको जिल्ला सर्लाही क्षेत्र नं ४बाट उम्मेदवार बनेर मधेशको जनतासँग प्रत्यक्ष जोडिनुभएको छ । यो केवल चुनावी रणनीति मात्र नभई मधेश र राष्ट्रिय राजनीतिबीचको सम्बन्धलाई सुदृढ बनाउने सन्देश हो।’
मधेशको समृद्धि, कृषिको आधुनिकीकरण, उद्योग तथा व्यापारको विस्तार, सीमावर्ती क्षेत्रको व्यवस्थित विकास, युवालाई रोजगारी, महिला सशक्तीकरण र सामाजिक न्याय सुनिश्चित गर्ने स्पष्ट कार्ययोजनासहित कांग्रेस अगाडि बढ्ने यादवको अठोट छ। प्रतिज्ञा सभामा मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट गरी १ लाखभन्दा बढी मतदाताको सहभागिता रहने अपेक्षा गरिएको उनले जानकारी दिए।
जनकपुरबाट सार्वजनिक गरिएको प्रतिज्ञा पत्रका बारेमा काठमाडौँमा पनि पत्रकार सम्मेलन गरेर जानकारी दिइने भएको छ। आज दिउँसो ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता देवराज चालिसेले प्रतिज्ञा पत्रबारे जानकारी दिने कांग्रेसले जनाएको छ।




