बुढीगंगामा कांग्रेस नेतृत्वले विकासको मुहार परिवर्तन गरेको छ : कोइराला

हिमाल प्रेस ४ फागुन २०८२ २१:०९ | Monday, February 16, 2026
10
SHARES
बुढीगंगामा कांग्रेस नेतृत्वले  विकासको मुहार परिवर्तन गरेको छ : कोइराला

काठमाडौँ– मोरङ क्षेत्र नं. ६ का नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले बुढीगंगा गाउँपालिकाका ६ वटा वडामा एकै दिन पार्टी कार्यालय उद्घाटन गरेका छन्।

आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस बुढीगंगा गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का पार्टी कार्यालय वरिष्ठ नेता कोइरालाले उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले बुढीगंगा गाउँपालिकामा पछिल्ला वर्षहरूमा उल्लेख्य विकास निर्माणका काम भएको दाबी गरे।

उनका अनुसार पिउने पानी, सडक, स्वास्थ्य संस्थालगायतका पूर्वाधार विकासमा उल्लेखनीय प्रगति भएको छ। ‘अरू समयको तुलनामा अहिले बुढीगंगाको मुहार फेरिएको छ,’ उनले भने, ‘यदि यहाँ विकास भएको छैन भन्नुहुन्छ भने म त्यसलाई पत्याउँदिन।’

फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा कांग्रेसका उम्मेदवारहरू चुनावी अभियानलाई तीव्र बनाउँदै मतदातामाझ पुगिरहेका छन्। सो अवसरमा कांग्रेसकी समानुपातिक उम्मेदवार रुक्मीणी कोइरालाले संविधान र राष्ट्रको संरक्षणका लागि कांग्रेसलाई विजयी गराउन बुढीगंगावासीसँग आग्रह गरिन्।

त्यसैगरी कांग्रेसकी समानुपातिक सांसद उम्मेदवार प्रमिला गच्छदारले जनआन्दोलनपछिको अवस्थामा मुलुकलाई ध्वस्त पार्ने प्रवृत्तिलाई चिन्न आवश्यक रहेको बताइन्। मुलुक निर्माण गर्ने जिम्मेवारी कांग्रेसकै काँधमा रहेको उल्लेख गर्दै उनले कांग्रेसलाई जिताउन आग्रह गरिन्।

डा. कोइरालाले चुनावी सभालाई सम्बोधन गर्नुका साथै विभिन्न पेशा–व्यवसायमा आबद्ध नागरिकहरूसँग भेटघाट गर्दै मत मागिरहेका छन्। कांग्रेसले जिते मात्र लोकतन्त्र, संविधान, संसदको सर्वोच्चता तथा धार्मिक–सांस्कृतिक पहिचान जोगिने उनको भनाइ छ।

नेपाली कांग्रेस बुढीगंगा गाउँपालिकाका उपसभापति किरण चौधरीका अनुसार उम्मेदवार कोइरालाले चुनावी कार्यक्रमलाई व्यापक बनाउँदै अभियानलाई थप प्रभावकारी बनाइरहेका छन्।

प्रकाशित: ४ फागुन २०८२ २१:०९ | Monday, February 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast