एआईको सहयोगमा तयार पारिएको प्रतीकात्मक तस्बिर।
‘पुरानो संसार मर्दै छ, नयाँ संसार जन्मिन संघर्ष गरिरहेछ र अहिले राक्षसहरूको समय हो।’ इटालेली दार्शनिक एन्टोनियो ग्राम्सीको यो भनाइ आज राजनीतिक-नीतिगत बहसहरूमा बारम्बार दोहोर्याइने गरिन्छ र यो गलत पनि छैन।
सन् २०२६ ले विश्वको विद्यमान व्यवस्थालाई थप अस्थिर र अलमलपूर्ण बनाइदिएको छ। विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ) मा बोल्दै क्यानडाका केन्द्रीय बैंकका पूर्वगभर्नर तथा राजनीतिज्ञ मार्क कार्नीले केही तीता यथार्थहरूतर्फ ध्यान आकर्षित गरे। उनले यो पुरानो व्यवस्था भत्किने समय भएको बताए। नियममा आधारित वैश्विक व्यवस्था अहिले टुटिसकेको छ र यो पुनः पहिलेकै अवस्थामा फर्कने सम्भावना निकै कम छ।
यसलाई प्रस्टसँग बुझौँ। अब विश्व शक्तिशाली नेताहरूको युगमा प्रवेश गरिसकेको छ, जहाँ हरेक देशले आफ्नो आर्थिक भविष्य, आफ्ना गठबन्धन र समृद्धिको बाटो आफैँ तय गर्नुपर्नेछ। यसको लुकेको अर्थ अझ महत्त्वपूर्ण छ। चीन र अमेरिकाबीचको वर्चस्वको दौडले नयाँ प्रकारका तनाव निम्त्याउनेछ। यो तनाव जमिन र क्षेत्रका लागि पनि देखिनेछ, उदाहरणका लागि भेनेजुएला र ग्रिनल्यान्डका मामिलामा देखिँदै छ। प्रविधिको क्षेत्रमा पनि यस्तै छ। जस्तै : इलेक्ट्रिक सवारी र नवीकरणीय ऊर्जाविरुद्ध परम्परागत इन्जिन तथा तेल, ग्यास र कोइलाको अर्थतन्त्र।
राष्ट्रहरूबीचको यो तीव्र प्रतिस्पर्धामा ‘विश्वव्यापी सहयोग’ ले सबैभन्दा ठूलो नोक्सानी व्यहोर्दै छ। जलवायु परिवर्तनजस्ता चुनौतीहरूसँग लड्न यस्ता सहयोग अत्यन्तै आवश्यक छ। यो पनि प्रस्ट बुझ्नुपर्छ कि अबको विषय जलवायु परिवर्तनसँग लड्न आवश्यक ऊर्जा संक्रमण (स्वच्छ ऊर्जातर्फको बदलाव) मा मात्र सीमित रहेन।
वास्तविक लडाइँ त कच्चा पदार्थको आपूर्ति शृंखलामाथि नियन्त्रण जमाउने हो। चाहे त्यो दुर्लभ खनिज होस् वा कोइला-तेल र तिनलाई प्रशोधन गर्ने प्रविधिमाथिको पकडको कुरा होस्। पेट्रो-स्टेट्स (तेलमा आधारित देश) र इलेक्ट्रो-स्टेट्स (विद्युतमा आधारित देश) बीचको खाडल वास्तविक छ र यो प्रतिस्पर्धा निकै कठोर छ। यसमा जलवायु परिवर्तन एक प्रकारको ‘कोल्याटरल ड्यामेज’ (सहायक क्षति) बन्दै गइरहेको छ।
पेट्रो-स्टेट्स ती देश हुन् जसको शक्ति र आम्दानी मुख्य रूपमा तेल, ग्यास र कोइलामा टिकेको छ। इलेक्ट्रो-स्टेट्स ती देश हुन् जो अक्षय ऊर्जा, ब्याट्री, इलेक्ट्रिक सवारी र सफा प्रविधिजस्ता विद्युतमा आधारित नयाँ अर्थतन्त्रमा तीव्र गतिमा अघि बढिरहेका छन्।
आजको भूराजनीतिमा आर्कटिक (ग्रिनल्यान्ड) को महत्त्व आफैँमा एउटा ठूलो विडम्बना हो। जलवायु परिवर्तनका कारण विश्वको यो ‘फ्रिज’ पग्लिरहेको छ र अब जहाजहरू पृथ्वीको ‘माथिल्लो भाग’ भएर महाद्वीपहरूबीच अझ छिटो यात्रा गर्न सक्छन्।
यी नयाँ समुद्री मार्गहरू रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण छन्, किनभने यसले रुस र चीनलाई पश्चिमी गोलार्धसम्म पुग्न मद्दत गर्न सक्छ। घट्दो बरफले यस क्षेत्रको तेल र खनिज स्रोतहरूलाई पनि उत्खननका लागि खुला गरिदिनेछ।
नजरअन्दाज भइरहेको कुरा के हो भने विश्वको यो फ्रिजले वैश्विक मौसम प्रणालीलाई सन्तुलित राख्न निकै महत्त्वपूर्ण भूमिका खेल्छ। तर वर्तमान व्यापार-प्रधान विश्व व्यवस्थामा मानौँ यी कुराहरूको चिन्ता कम हुँदै गएको छ। अबको केन्द्रविन्दु नाफा कमाउनुमा छ, चाहे त्यो वैश्विक नोक्सानी र विनाशकै मूल्यमा किन नहोस्।
फेरि प्रश्न उठ्छ- नयाँ पुस्ताको हरित प्रविधियुक्त संसारका लागि खनिज उत्खनन र यसले क्षेत्रीय दौड तथा वातावरणमा पार्ने प्रभावको। अहिलेसम्मको आमधारणा छ- विश्व कोइला, फलाम र बक्साइटजस्ता खनिजहरूको मागको चरम बिन्दु नजिक पुग्दै छ। तर तीव्र रूपमा बढिरहेको विद्युतीकरण, हरित प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) संरचनाको आवश्यकताका कारण अबको लगभग एक दशकमा तामाको वैश्विक माग दोब्बर हुने अनुमान छ।
यसै कारण सबैभन्दा ठूलो तामा भण्डार भएका देशहरू पेरु, चिली र कंगो लोकतान्त्रिक गणतन्त्र अहिले विश्वको नजरमा छन्। विश्वको कुल तामाको करिब ५० प्रतिशत प्रशोधन र शुद्धीकरण चीनले गर्छ।
माग बढ्दै जाँदा थप खानीहरू खुल्नेछन्। यस्ता खानी प्राय: घना जंगल र जैविक विविधताले भरिएका क्षेत्रहरूमा हुनेछन्। साथै तामा पगाल्ने प्लान्टहरूको आवश्यकता बढ्नेछ। यस क्रममा प्रदूषण नियन्त्रणका लागि ठूलो लगानी चाहिन्छ। यही अवस्था लिथियमदेखि ग्रेफाइटसम्मका दुर्लभ खनिजहरूको पनि छ।
चीन यी आपूर्ति शृंखलाहरू सुरक्षित गर्न मात्र धेरै अगाडि बढिसकेको छैन, बरु हरित प्रविधिमा पनि अग्रणी बनेको छ। अन्य देशहरू अहिले चीनजस्तै गरी हतारहतार नयाँ खानीका स्रोत र सम्झौता खोजिरहेका छन्। यसले हाम्रो भविष्यमा कस्तो असर पार्नेछ, त्यसको संकेत आजका सानासाना विवादमा देखिन थालेको छ।
एउटा नयाँ संसारले आकार लिँदै छ। हामीले चाँडै जवाफ खोज्नुपर्नेछ। त्यसबाट यो संसार मानिस र पृथ्वी दुवैका लागि उत्तम साबित हुन सकोस्।




