पप सुपरस्टार ब्रिट्नी स्पियर्स।
पप सुपरस्टार ब्रिट्नी स्पियर्सले आफ्नो सम्पूर्ण संगीत क्याटलग (गीतहरूको सँगालो) को अधिकार बिक्री गरेकी छन्। बीबीसीका अनुसार ४४ वर्षीया स्पियर्सले डिसेम्बर ३० मा स्वतन्त्र संगीत प्रकाशक ‘प्राइमरी वेभ’ लाई करिब दुई सय मिलियन डलरमा आफ्नो अधिकार बिक्री गरेकी हुन्।
लामो समयसम्म संरक्षकत्वको नियन्त्रणमा रहेकी यी गायिका आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनका लागि सधैँ चर्चामा रहिन्। उनी ‘बेबी वान मोर टाइम’, उप्स, डिड इट अगेन, टक्सिसस्ता गीतका लागि प्रख्यात छिन्। ।
प्राइमरी वेभले बीबीसीको टिप्पणीको अनुरोधमा तुरुन्तै कुनै प्रतिक्रिया दिएको छैन। स्पियर्सका प्रतिनिधिहरूले पनि यस विषयमा टिप्पणी गर्न अस्वीकार गरे।
स्पियर्सले जनवरी २०२४ मा संगीत उद्योगमा कहिल्यै नफर्कने बताएकी थिइन्। उनको अन्तिम गीत सन् २०२२ मा एल्टन जोनसँगको युगल गायनमा थियो।
प्राइमरी वेभले नोटोरियस बीआईजी, प्रिन्स र ह्विटनी ह्युस्टनको सम्पत्ति (एस्टेट) माथिको अधिकार पनि प्राप्त गरिसकेको छ।
स्पियर्सको क्याटलग बिक्रीको विस्तृत विवरण र यसको यकिन मूल्य भने सार्वजनिक गरिएको छैन। ब्रुस स्प्रिंगस्टिन, जस्टिन बिबर, जस्टिन टिम्बरलेक र साकिराजस्ता उच्च स्तरका कलाकारहरूले पनि हालै आफ्ना क्याटलग बेचेका छन्।
स्प्रिंगस्टिनले सन् २०२१ मा आफ्नो ब्याक-क्याटलग सोनीलाई पाँच सय मिलियन डलरमा बेचेका थिए भने बिबरले सन् २०२३ मा ‘हिप्ननोसिस सङ्ग्स क्यापिटल’सँग २०० मिलियन डलरको सम्झौता गरेको बताइएको छ।
स्पियर्स विश्वभर एक सय ५० मिलियनभन्दा बढी रेकर्डहरू बिक्री गर्ने सबैभन्दा सफल महिला कलाकारमध्ये एक हुन्। उनको क्याटलगमा सन् १९९९ को डेब्युदेखिका नौवटा स्टुडियो एल्बम समावेश छन्।
यो बिक्री गायिकाका लागि केही उथलपुथलपूर्ण वर्षपछि आएको हो। उनले सन् २०२१ मा १३ वर्ष लामो कानुनी संरक्षण अन्त्य गरेकी थिइन्। त्यति बेला उनको आर्थिक र व्यक्तिगत जीवन पिताको नियन्त्रणमा थियो।
स्पियर्सले सन् २०२३ मा आफ्नो संस्मरण ‘द वुमन इन मी’ प्रकाशित गरेकी थिइन्। त्यसमा उनले संरक्षकत्वमा रहँदा भोग्नुपरेका संघर्षहरूको विस्तृत वर्णन गरेकी छन्।



