निर्वाचनको ४८ घण्टा अगावै सीमा नाका बन्द गरिने

हिमाल प्रेस २३ माघ २०८२ २०:४२ | Friday, February 6, 2026
8
SHARES
निर्वाचनको ४८ घण्टा अगावै सीमा नाका बन्द गरिने

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाल-भारत सीमा नाका ४८ घण्टा अगाबै बन्द गर्ने निर्णय भएको छ। शुक्रबार मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारत सशस्त्र सीमा बलबीचको १६औँ डीआईजीस्तरीय समन्वय बैठक सो निर्णय भएको हो।

बैठकमा सीमा सुरक्षा, सूचनाको आदान–प्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसारपसार नियन्त्रण लगायत विषयमा छलफल भएको थियो।

साथै सीमा स्तम्भको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा समेत दुवै पक्षबीच छलफल भएको हो।

त्यसै गरी सीमा क्षेत्रका सम्भावित नाकाहरू पहिचान गरी त्यसबाट हुन सक्ने खतरा मूल्यांकन गर्ने, शरणार्थी/आप्रवासीहरूको गतिविधि उपर निगरानी राख्ने, विभिन्न तह बनाई चेकप्वाइन्ट र बेरियर खडा गर्ने, आपराधिक तत्वहरूबाट हुन सक्ने घुसपैठ कडाइका साथ नियन्त्रण गर्ने, सीमा क्षेत्रमा मादक पदार्थ विक्री वितरण र सेवनमा पूर्णतः बन्देज गर्ने लगायत विषयहरूमा समेत छलफल भएको थियो।

बैठकमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनीकुमार पोख्रेलले सीमा केवल दुई देशबीचको रेखा नभई मित्रताको प्रतीक भएको उल्लेख गरेका थिए। भारतीय एसएसबीका डीआईजी सरोजकुमार ठाकुरले नेपाल भारत सीमा क्षेत्रलाई आगामी दिनमा अझ मजबुत र बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।

बैठकमा सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु अन्जनीकुमार पोख्रेल, दिपेन्द्र शाह, कृष्ण ढकाल र मनिष थापा लगायत भारतीय एसएसबीको तर्फबाट डीआईजी सरोज कुमार थाकुर, मन्जीत सिंह, सुरेश सुब्रमनिम, राजेस टिक्कु र मनिस कुमारको समेत उपस्थिति थियो।

प्रकाशित: २३ माघ २०८२ २०:४२ | Friday, February 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast