फाइल तस्बिर
काठमाडौँ- अमेरिकाले ताइवानका लागि ‘प्याट्रियट’ मिसाइलसहित ठूलो परिमाणमा हतियार बिक्री गर्ने तयारी गरेपछि वासिङ्टन र बेइजिङबीच कूटनीतिक तनाव बढेको छ। यस कदमले आगामी अप्रिलमा तय भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण रद्द हुन सक्ने भन्दै बेइजिङले चेतावनी दिएको छ।
डिसेम्बरमा सार्वजनिक गरिएको ११.१ अर्ब डलरको ऐतिहासिक हतियार प्याकेजलगत्तै ट्रम्प प्रशासनले ताइवानका लागि थप चारवटा अत्याधुनिक रक्षा प्रणाली उपलब्ध गराउन लागेको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार नयाँ प्याकेजको आकार २० अर्ब डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
अप्रिलमा चिनियाँ राष्ट्रपति सी चिनपिङ र ट्रम्पबीच हुने भनिएको उच्चस्तरीय भेटवार्ताअघि चीनले यो मुद्दालाई गम्भीरताका साथ उठाएको छ।
चिनियाँ परराष्ट्र मन्त्रालयका अनुसार बुधबार भएको टेलिफोन वार्तामा राष्ट्रपति सीले ताइवानलाई हतियार बिक्री गर्ने मामिलामा अमेरिकालाई ‘सावधानी र संयम’ अपनाउन जोड दिएका थिए। चीनले हतियार बिक्री अघि बढेमा ट्रम्पको भ्रमण प्रभावित हुने सन्देश अमेरिकासम्म पुर्याएको छ।
ब्रुकिङ्स इन्स्टिच्युसनका चीन विज्ञ रायन हास भन्छन्, ‘चीनले राष्ट्रपतीय भेटघाटको पूर्वसन्ध्यामा आफूले विरोध गर्ने कार्यहरूबाट अमेरिकालाई रोक्ने प्रयास गर्नु पुरानै शैली हो। तर, यसपटकको चेतावनीको स्पष्टता र सार्वजनिक प्रकृति भने निकै अर्थपूर्ण छ।’
नयाँ प्याकेजमा शत्रुपक्षको मिसाइल नष्ट गर्ने ‘प्याट्रियट’ प्रणालीका साथै उन्नत सतहबाट हावामा प्रहार गर्ने ‘नासाम्स’ र अन्य दुई हतियार प्रणाली समावेश हुनेछन्। केही अमेरिकी अधिकारीहरूले भने चीनको चेतावनीलाई केवल धम्कीका रूपमा अर्थ्याउँदै उसले भ्रमण रद्द नगर्ने तर्क गरेका छन्।
‘ताइवान सम्बन्ध ऐन’ अन्तर्गत अमेरिका ताइवानको रक्षाका लागि आवश्यक हतियार बिक्री गर्न कानुनी रूपमै बाध्य छ। ह्वाइट हाउसका एक अधिकारीले भनेका छन्, ‘विगत ४० वर्षदेखि अमेरिकाको नीति ताइवानको रक्षा क्षमता कायम राख्नु नै हो। हाम्रो सुदृढ उपस्थितिले नै यस क्षेत्रमा शान्ति र स्थिरता सुनिश्चित गरेको छ।’
जर्मन मार्सल फन्डकी विज्ञ बोनी ग्लेसरका अनुसार यी दुई हतियार प्याकेजको संयोजनले ट्रम्प प्रशासनको ताइवानप्रतिको बलियो समर्थन र चीनको आक्रोश मोल लिन सक्ने आँटलाई प्रतिविम्बित गर्दछ।
ताइवानको आन्तरिक राजनीतिक खिचातानीले गर्दा हतियार खरिदका लागि आवश्यक बजेट अनुमोदनमा भने ढिलाइ भइरहेको छ। विपक्षी दलहरू कुओमिन्ताङ र ताइवान पिपुल्स पार्टी ले राष्ट्रपति लाई चिङ-तेद्वारा प्रस्तावित ४० अर्ब अमेरिकी डलरको विशेष रक्षा बजेटलाई संसदमा रोकिरहेका छन्। विपक्षीले सरकारमाथि पारदर्शिताको अभाव रहेको आरोप लगाएका छन्।
अमेरिकी कंग्रेसका केही प्रभावशाली नेताहरूले ताइवानको रक्षा बजेट विधायिकामा अड्किएको प्रति निराशा व्यक्त गर्दै दलीय स्वार्थभन्दा माथि उठेर आत्मरक्षाका लागि बजेट विनियोजन गर्न ताइवानी दलहरूलाई आग्रह गरेका छन्।



